
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । लागुऔषध कारोबारको मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर–११ पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीका प्रवक्ता डीएसपी मोहनजंग बुढाथोकीका अनुसार बिहान ५:५८ बजे सुनार सुतेकै ठाउँमा बेहोस अवस्थामा भेटिएका थिए । “उहाँसँगै सुतेका साथीहरूले बिहान उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरेका थिए,” उनले भने, “प्रहरीले तुरुन्तै कर्णाली प्रदेश अस्पताल पुर्याए तर चिकित्सकले मृत घोषणा गर्नुभयो ।”
प्रहरीले हिरासतको सीसीटीभी फुटेज पनि हेरेको छ। फुटेज अनुसार, गंगे सुनार सुतेअघि बाथरुममा गएर टाउको नुहाएर फर्किएका थिए। राति उनी घुर्ने बानीका कारण साथीहरूले केही बेरपछि उठाएको दृश्य पनि फुटेजमा देखिन्छ ।
सुनार ७८ दिनदेखि प्रहरी हिरासतमा थिए। चार दिनअघि सरकारी वकिल कार्यालयमा मुद्दा पुगेको र शुक्रबार नै अदालतमा पेसी (सुनुवाइ) तय भएको डीएसपी बुढाथोकीले बताए ।
प्रतिक्रिया दिनुहोस्