२०८३ वैशाख ५ , शनिबार
समाज

वार्षिकोत्सवमा स्याकले दियो आश्रमलाई साढे ६ लाख रुपैयाँ

९ जना सामाजिक अगुवाहरुलाइ सम्मान


सुर्खेत । समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतले ३१ औँ स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम सुर्खेतलाई साढे ६ लाख रुपैयाँ दिएको छ । बिहीबार स्याक नेपालले मानव सेवा आश्रमको भवन निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रुपैँया सहयोग गरेको हो । आश्रमका संस्थापक रामजी अधिकारीलाई चेक हस्तान्तरण गरेको छ । आश्रमले वीरेन्द्रनगर ११ मा निर्माण गर्न लागेको भवनको एक कोठा निर्माणका लागि सहयोग गरेको स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले बताए । केही वर्ष सुर्खेतमा सेवा आरम्भ गरेको आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर ११ गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएको छ ।
यस्तै स्याकले खानेपानी सरसफाई क्षेत्रबाट खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष कुलमणि देवकोटा, शिक्षा बाल अधिकार र मानव अधिकारका क्षेत्रबाट मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकाल, कला संस्कृतीमा बरिष्ठ कलाकार प्रेम देव गिरी, मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी, महिला मानव अधिकारकर्मी अधिवक्ता गीता कोइराला, लेखक, सामाजिक अभियान्त तथा बाल रोग विशेषज्ञ डा.नवराज केसीलाई संस्थाले सम्मान गरेको छ ।
यस्तै संस्थाले गठन गरेको पहिलो महिला समूहको संस्थापक अध्यक्ष बालिका सारु र सहकारीको संस्थापक विष्णु ज्ञवाली, जिल्ला बाल मञ्चको पहिलो अध्यक्ष गायिका टिका पुनलाई सम्मान गरेको छ ।
वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेलले समाज रुपान्तरणका क्षेत्रमा स्याक नेपालले महत्वपूर्ण योगदान गरेको बताए । सामाजिक विकास मन्त्री घनश्याम घण्डारीले सहरमा लागू औषध दूव्र्यसनी लगायतका समस्या समस्या बढ्दै गएको भन्दै सामाजिक संघ संस्थाहरुले ग्रामीण समाजको चेतनास्तरबृद्धि गर्नुपर्ने बताए । संस्थापक अध्यक्ष एवं संरक्षक डाक्टर सुरेश तिवारीले समावेशी, सुशासनयुक्त समुन्नत समाज निर्माणका लागि रुपान्तरीय अभियानमा स्याक नेपाल निरन्तर लागिरहने बताए । स्याक नेपालका अध्यक्ष मिना तिवारी शर्माले नागरिकमा अधिकारसँगै कर्तव्यबोध गराएर जागरण ल्याउनेकुरामा स्याक नेपाल सम्बद्ध सबैसँग सँगसँगै हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाइन् ।
‘अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ति बाल्नु बेश’ भन्ने मुल नारा लिएर स्याक नेपाल २०५२ साल साउन २९ गते स्थापना गरिएको थियो ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार