
सुर्खेत । पर्यटनको राम्रो सम्भावना भएको कर्णाली प्रदेशमा गत वर्ष पाँच लाखभन्दा बढी पर्यटक घुमेका छन् । यहाँका रारा, से फोक्सुन्डो, काँक्रेविहार, सहिद पार्कलगायतका स्थानमा पाँच लाख १८ हजार ९७० पर्यटक आएका छन् ।
यो तथ्याङ्क गत चैतसम्मको हो । असारसम्मको तथ्याङ्क नआए पनि, छ लाखभन्दा बढी पुगेको अनुमान कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको छ । त्यस्ता पर्यटकमा बाह्य चार हजार ४८२ र आन्तरिक पाँच लाख १४ हजार ४८८ छन् ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्यटकले सुर्खेतको बुलबुले र सुर्खेतकै प्रादेशिक सहिद पार्क अवलोकन गरेका छन् । बुलबुलेमा तीन लाख २० हजार ८२३ र प्रादेशिक सहिद पार्कमा एक लाख २० हजार पर्यटक आएका छन् । मन्त्रालयका सूचना अधिकारी नीरज श्रेष्ठले असारसम्मको सबै तथ्याङ्क आउँदा कर्णालीमा भित्रिने पर्यटक छ लाख नाघ्ने बताउनुभयो ।

मन्त्रालयका अनुसार रारामा १९ हजार ४४७, भेरी नदीमा ¥याफ्टिङ छ हजार ५७८, सुर्खेतको प्रादेशिक सहिद पार्कमा एक लाख २० हजार, बुलबुलेमा तीन लाख २० हजार ८२३, से फोक्सुन्डोमा पाँच हजार ९५, गुराँसेमा १६ हजार ६६ र काँक्रेविहारमा ३० हजार ९६१ पर्यटक रमाएका छन् ।
रारामा ३५३ बाह्य र १९ हजार ९४ आन्तरिक, भेरी नदीमा ¥याफ्टिङ दुई हजार ८६४ बाह्य र तीन हजार ७१४ आन्तरिक, प्रादेशिक सहिद पार्कमा एक लाख २० हजार आन्तरिक तथा बुलबुलेमा ७८ बाह्य र तीन लाख २० हजार ७५४ आन्तरिक पर्यटक आएका छन् ।
यस्तै डोल्पाको से फोक्सुन्डो तालमा ५६८ बाह्य र चार हजार ५२७ आन्तरिक, दैलेखको गुराँसेमा ५८९ बाह्य र १५ हजार ४७७ आन्तरिक तथा सुर्खेतको काँक्रेविहारमा ३० बाह्य र ३० हजार ९३१ आन्तरिक पर्यटकले अवलोकन गरेको मन्त्रालयका औद्योगिक प्रवर्धन तथा पर्यटन महाशाखा अधिकृत सातौँ स्मिता बेल्बासेले जानकारी दिनुभयो । उहाँले असारसम्मको पर्यटकको विवरण सम्बन्धित स्थानबाट माग गरिरहेको र आएपछि पुनः सङ्ख्या यकिन गरिने उल्लेख गर्नुभयो । (ललित बसेल/गाेरखापत्रअनलाइन)
प्रतिक्रिया दिनुहोस्