
सुर्खेत । कर्णाली प्रदेश सरकारले राउटे समुदायको संरक्षण र सम्बर्धनमा महत्वपूर्ण योजना सहित राउटे करिडोर निर्माण गर्ने भएको छ । जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायलाई शिक्षासँग जोड्ने र कुपोषणबाट बचाउने मुख्य उद्देश्य राखेर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले राउटे करिडोर निर्माणको योजना अगाडि सारेको हो ।
राउटे करिडोर अन्तरगत राउटे समुदाय बसोबास गर्ने स्थानमा खानेपानीको मुहानको संरक्षण गर्ने, सामुदायक बनहरुमा कन्दमुल लगायतका आहारा र भाँडाहरु बनाउन प्रयोग हुने विरुवाहरु लगाइदिने, स्थानीय तहसँगको समन्वयमा पढ्न चाहने राउटे बालबालिकालाई स्कूलमा पढ्न पाउने व्यवस्था गरिदिने, स्वास्थ्य उपचार गरिदिने र सुरक्षाको व्यवस्था गरिदिने लगायतका योजनाहरु समावेश गरिने छन् । पछिल्लो दश वर्ष राउटे समुदायहरु बसोबास गरेका स्थानको अध्ययन गरेर ती स्थानहरुमा यी पूर्वाधारहरु निर्माण गरिने कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।
राउटेहरु बसोबास गर्ने स्थानमा अन्दमुल लगाउँदा राउटे बालबालिकाहरु कुपोषणबाट बच्न सघाउ पुग्ने छभने पढ्न चाहने बालबालिकाहरु विद्यालय गएर अध्ययन गर्न पाउने छन् । त्यस्तै विरामी भएमा स्थानीय तहले समन्वय गरेर उपचार गर्ने र बाह्य नागरिकको अनावश्यक प्रवेश रोक्नका लागि शान्ति सुरक्षाको समेत व्यवस्था गरिने मन्त्री भण्डारीले बताए । यी सबै योजनाहरु राउटे करिडोर भित्र पर्ने उनको भनाइ छ ।

जंगलमा कन्दमुल र काठका भाँडा बनाउन मिल्ने रुखहरु लगाउने, खानेपानीको संरक्षण गर्ने जिम्मा प्रदेश सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले गर्ने छ । त्यस्तै सामाजिक विकास मन्त्रालयको समन्वयमा स्थानीय तहले राउटे समुदायको औषधि उपचारको प्रवन्ध गर्नेभने शान्ति सुरक्षाको जिम्मा भने स्थानीय तहसँगको समन्वयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्ने सामाजिक विकास मन्त्री भण्डारीले बताए ।
राउटे करिडोर निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट समेत बिनियोजन गरेको छ । यही योजना अनुसार हाल : पछिल्लो दश वर्ष राउटे समुदाय बसोबार गरिरहेको स्थानको अध्ययन र राउटेसँग सम्बन्धि अन्तर्राष्ट्रिय जर्नरलहरुमा प्रकाशित अध्ययन प्रतिवेदनहरु मन्त्रालयले अध्ययन गरिरहेको छ ।
त्यस्तै राउटे समुदायका हरेक व्यक्तिको प्रोफाइल समेत तयार भइरहेको छ । राउटे समुदायको संख्या हालः एक सय १३ जना छ । मन्त्रालयले ती सबै व्यक्तिको प्रोफाइल तयार तयार गरिरहेको छ । यसरी राउटे करिडोर निर्माण गरेर पर्यटन व्यवसायलाई समेत जोड्ने प्रदेश सरकारको योजना छ ।
करिडोर निर्माण भएमा विभिन्न आयोग र मानवअधिकारकर्मीहरुले सरकारलाई दिएको सुझाव कार्यान्वयन हुने छ । राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, आदिवासी जनजाति आयोग लगायतका मानवअधिकारवादी संघसंस्थाहरुले राउटे समुदायमा मानवअधिकारको अवस्था दयनिय रहेको भन्दै विभिन्न समयमा सरकारलाई सुुझाव दिँदै आएका छन् ।
राउटे करिडोर निर्माणपछि उनीहरुको शिक्षा, स्वास्थ्य र जीवनशैलीमा ठूलो योगदान पुग्ने सरकारको अपेक्षा छ । हाल : बाह्य नागरिकको खुल्ला प्रवेशले राउटे समुदायहरु कुलतमा बस्दै आएका छन् । राउटे समुदायमा पुग्नेहरुले पैशा दिने र सोही पैसाले मदिरा र सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेका छन् । सानै उमेरमा अध्याधिक मदिरा सेवन गर्दा बालबालिकाको स्वास्थ्यमा ठूलो असर परेको उनी राउटे समुदायको उपचारमा संलग्न स्वाथ्यकर्मीहरुले बताउँदै आएका छन् ।
राउटे करिडोर निर्माणका लागि मन्त्रालयले सामाजिक महाशाखा हेर्ने कर्मचारीसहितको ५ सदस्यीय समिति बनाएको छ । समितिमा आदिवासी जनजातिम महासंघ कर्णाली प्रदेशका अध्यक्ष विरबहादुर रावत भोटे, मन्त्रालयको सामाजिक महाशाखाका सुवर्ण खड्का, गुराँश गाउँपालिकाले तोके एकजना प्रतिनिधि, राउटे समुदायमा काम गरिरहेका हिरासिंह थापा र नगेन्द्र उपाध्याय रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्