२०८३ वैशाख ५ , शनिबार

विद्यार्थी र शिक्षकलाई मिथ्या सूचना र भ्रामक समाचार अभिमुखीकरण



सुर्खेत । सुर्खेतका एकै पटक ७८ जना शिक्षक र विद्यार्थीलाई मिथ्या सूचना र भ्रामक समाचार सम्बन्धी अभिमुखीकरण गरिएको छ । वीरेन्द्रनगर–१ मा रहेको त्रिपुरेश्वर माध्यमिक विद्यालयका ७३ जना विद्यार्थी र ५ जना शिक्षकलाई मिथ्या सूचना र भ्रामक समाचार सम्बन्धी अभिमुखीकरण गरिएको हो । युएनडीपी संसद सहयोग परियोजनासँगको सहकार्यमा संसदीय मामिला पत्रकार समाजले आइतबार त्रिपुरेश्वरका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी र शिक्षकलाई अभिमुखीकरण गरेको हो । पछिल्लो समय सामाजिक सञ्जालमा मिथ्या सूचना र भ्रामक समाचार आउन थालेपछि समाजले शिक्षक र विद्यार्थीहरुलाई अभिमुखीकरण गरेको हो । गत भदौ २३ र २४ गतेपछि सामाजिक सञ्जालहरुमा मिथ्या र भ्रामक समाचारहरु आउन थालेका छन् । मिथ्या र भ्रामक समाचारबारे जानकारी नहुँदा यस्ता समाचारहरु तीब्र गतिमा फैलने र त्यसमा समाजमा नकारात्क असर पार्ने भएका कारण यसबाट बच्न विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको संसदीय मामिला पत्रकार समाजले जनाएको छ ।

विषय विज्ञ एवम् संसदीय मामिला पत्रकार समाजका अध्यक्ष देव रानाले विश्वमा मिथ्या सूचनाको प्रारम्भर र नेपालमा भइरहेको अभ्यास लगायतका विषयमा प्रशिक्षण दिए । मिथ्या सूचना पहिचान गर्ने उपाय, भ्रामक सूचना आउनुको कारण र यसले समाजमा पार्नसक्ने नकारात्मक असरका विषयमा पनि प्रशिक्षण दिए । त्यस्तै मिथ्या सूचना रोक्नका लागि नागरिकले गर्नुपर्ने उपाय र कानुनी व्यवस्था लगायतको विषयमा समेत अभिमुखीकरण गरेका थिए ।

यस्तै कर्णाली प्रदेशसका कानुन अधिकृत मदन खड्काले कर्णाली प्रदेशसभाले सूचना प्रभाव गर्न अपनाएका विधि र प्लेटफर्मको विषयमा अभिमुखीकरण दिए । उनले सामाजिक सञ्जाल फेसबुक पेज, युट्बु, डिजिटल बोर्ड र अनलाइन पोर्टलबाट कर्णाली प्रदेशसभाले सूचना प्रवाह गर्दै आएको बताए । प्रदेशसभाका हरेक बैठकहरु युट्बबाट प्रत्यक्ष प्रसारण गर्ने गरेको, मिनी संसदका गतिविधिहरु फेसबुकमार्फत र संसदमा रहेका विधेयकहरुको विषयको जानकारी प्रदेशसभाको अनलाइन पोर्टलमार्फत सूचना प्रवाह गर्दै आएको बताए । कर्णाली प्रदेशको शासकीय स्वरुप, कानुन निर्माणको प्रक्रिया, राजनीतिक दलको सहभागिता लगायतका विषयमा समेत प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक टेकनारायण उपाध्यायले विद्यार्थी र शिक्षकलाई मिथ्या सूचना र भ्रामक सूचना सम्बन्धी महत्वपूर्ण ज्ञान बाँढेको बताए । विद्यार्थी र शिक्षकले पहिलो पटक मिथ्या सूचना र भ्रामक सूचना ज्ञान लिएको भन्दै संसदीय मामिला पत्रकार समाज र प्रदेशसभा सचिवालयलाई धन्यवाद दिए । सामाजिक सञ्जालमा आउने गलत सूचनाले विद्यार्थीहरुमा नकारात्मक प्रभाव पारिरहेको भन्दै अहिले समयमा भ्रामक समाचार र मिथ्या सूचनाका बारेमा जनचेतना अपरिहार्य रहेको बताए ।कार्यक्रममा विद्यार्थी सिर्जना नेपाली विद्यार्थी सामाजिक सञ्जालमा आउने भिडियो, समाचार, फोटो आदिको सत्यता परीक्षण गर्ने ज्ञान प्राप्त भएको बताइन । अर्का विद्यार्थी वशन्त पौडेलले सामाजिक सञ्जालमा आउने सबै सूचनाहरु सत्य नहुने भन्दै मिथ्या सूचना पहिचान गरेर मात्रै शेयर र लाइक गर्ने धारणा राखे । सामाजिक सञ्जालको बढ्दो प्रयोग, जनचेतनाको अभाव र कमजोरी कानुनी व्यवस्थाका कारण पछिल्लो समय सामाजिक सञ्जालमा भ्रामक र मिथ्या सूचनाहरुको आइरहेका छन् । निश्चित व्यक्ति र समूहको प्रभाव र अज्ञानका कारण भुलबस आउने मिथ्या सूचनाले सामाजिक सद्भाव भाँड्ने जोखिम बढाएको छ । यही समस्याको न्यूनिकरण र विद्यार्थीहरुलाई मिथ्या सूचनाबारे सचेतना फैलाउने उद्देश्यले संसदीय मामिला पत्रकार समाजले कार्यक्रम गर्दै आएको छ । यसअघि पनि समाजले सुर्खेतकै डिभी निकेतनका कक्षा ११ र १२ मा अध्ययनरत झण्डै ४० जना विद्यार्थीहरुलाई मिथ्या सूचना र भ्रामक समाचार सम्बन्धी अभिमुखीकरण गरेका थियो ।

प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार