२०८३ वैशाख ६ , आइतबार

वीरेन्द्रनगर नगरपालिका र शिक्षा कार्यालयमा तालाबन्दी



सुर्खेत । विद्यालय व्यवस्थापन समिति महासंघ र नेपाल शिक्षक संघले वीरेन्द्रनगर नगरपालिका र नगर शिक्षा कार्यालयमा तालाबन्दी गरेका छन्।

उनीहरूले विद्यालय व्यवस्थापन समितिको अधिकार कटौती गरिएको, प्रधानाध्यापकको सरुवा तथा दरबन्दी मिलान मनपरी ढंगले गरिएको र विद्यालय समायोजनमा पक्षपात गरिएको भन्दै तालाबन्दी गरेको जनाएका छन्।
संघका अनुसार शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ ले विद्यालय व्यवस्थापन समितिलाई दिएको अधिकार नगर शिक्षा शाखा र नगर शिक्षा समितिले उल्लङ्घन गरेको छ।
उनिहरूले नगरपालिकाले गरेको प्रधानाध्यापक व्यवस्थापन र शिक्षक दरबन्दी मिलान तत्काल खारेज गर्न माग गरेका छन्।


श्रीकृष्ण संस्कृत माध्यमिक विद्यालय, ईत्रामका विद्यालय व्यवस्थापन समिति अध्यक्ष डा. डम्मर खड्काले नगरपालिकाले विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरभन्दा पनि आफू निकट शिक्षकलाई प्राथमिकता दिएको आरोप लगाए।
त्यसैगरी वडा नं ५ का अध्यक्ष दिनेश खत्रीले शैक्षिक सत्रको बीचमा दरबन्दी मिलान, प्रधानाध्यापक सरुवा र विद्यालय मर्ज गर्दा विद्यार्थी, शिक्षक र विद्यालयको समग्र वातावरणमा नकारात्मक प्रभाव पर्ने बताएका छन्।
नगरपालिका र नगर शिक्षा कार्यालयमा तालाबन्दी भएपछि आजको प्रशासनिक कामकाज प्रभावित भएको छ।

प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार