२०८३ वैशाख ६ , आइतबार

एनपिएलको ट्रफी मंगलबार र बुधबार कर्णालीमा



 

सुर्खेत । कर्णाली प्रदेशमा नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको ट्रफी टुर आगामी मंगलबार र बुधबार हुने भएको छ ।

एनपिएल टोली कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका निर्देशक गृहेन्द्र घिमिरेले कर्णाली प्रदेश क्रिकेट एसोसियनसँग समन्वय गर्दै प्रदेशका विभिन्न शहर र धार्मिक स्थलहरुमा ट्रफी यात्रा गरिने जानकारी गराए ।

एनपिएलको ट्रफी सोमबार छिन्चुहुँदै कुबिन्डे दहबाट सल्यानको खलङ्गा बजार पुर्याउने तयारी कर्णाली याक्सले गरेको छ ।

मङलबार दैलेखको पन्चकोशयी क्षेत्र र दैलेख बजार ट्रफी पुग्नेछ ।
पुनः बुधबार सुर्खेतका विभिन्न स्थानमा ट्रफी यात्रा लैजाने कार्यक्रम छ । यस अघि मुख्यमन्त्री यमलाल कडेलले ट्रफी सार्वजनिक गर्नेछन् ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको हो । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

यस्तै, कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको हो । वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।

प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार