२०८३ वैशाख ५ , शनिबार
प्रदेश सरकार

साउन ३० गतेभित्र भत्ता पाउनेको विवरण पठाउन निर्देशन



सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन ३० गतेभित्र सहिद स्मृति भत्ता र जीवन निर्वाह विशेष भत्ताका लागि विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको छ । प्रदेश सरकारले केही वर्षयता दुई हजार रुपैयाँका दरले सशस्त्र संघर्ष, जनआन्दोलन र प्रदेश स्थापनाका लागि भएको आन्दोलनका सहिद तथा बेपत्ता परिवारका हकवालालाई सहिद स्मृति भत्ता र घाइते तथा अपांग भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता दिँदै आएको छ । चालु आर्थिक वर्षमा पनि दुबै भत्ताका लागि विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको हो ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गर्दै कर्णालीका सबै स्थानीय तहलाई कर्णाली प्रदेश सरकारले सशस्त्र संघर्ष, जनआन्दोलन र प्रदेश स्थापनाका लागि भएका आन्दोलनमा सहिद, घाइते तथा बेपत्ता भएकाहरूको विवरण पठाउन निर्देशन दिएको हो ।
सरकारले स्थानीय तहलाई विवरण पठाउँदा गत आर्थिक वर्षमा वितरण भएको भत्ताको प्रतिवेदनसमेत पठाउन भनेको छ । स्थानीय तहले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा वितरण गरिएको भत्ताको प्रतिवेदन र यस आर्थिक वर्ष २०८२/०८३ मा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण प्राप्त नभएको खण्डमा भने भत्ताको रकम दिन बाध्य नहुने मन्त्रालयले बताएको छ । यसरी सहिद स्मृति भत्ता र जीवन निर्वाह विशेष भत्ता वितरणको जिम्मेवारी पाएका शाखा वा कर्मचारीको नाम र सम्पर्क नम्बरसमेत पठाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार