सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य ढिलो भइरहेको भन्दै गम्भीर चासो व्यक्त गरेका छन्।
मुख्यमन्त्री कँडेलले आयोजनालाई ‘समस्याग्रस्त आयोजना’का रूपमा सूचीकृत गर्ने चर्चा चलेपछि शुक्रबार निर्माणस्थल बबई पुगेर आयोजनाका प्रमुख र निर्माण व्यवसायीका प्रतिनिधिहरूसँग छलफलमा यस्ताे चासो व्यक्त गरेका हुन् ।
संघीय सरकारको अधिकारक्षेत्रमा रहे पनि प्रदेशको प्रत्यक्ष सरोकार रहेको आयोजनाको प्रगतिबारे जानकारी लिँदै उनले भने, “यो राष्ट्रिय गौरवको आयोजना हो, तर अहिलेको गतिमा काम गर्दा तोकिएको समयमा सम्पन्न हुन असम्भवजस्तै देखिन्छ। यसलाई रोकिन नदिई छिटो सम्पन्न गर्न संघीय सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्छ।”
भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सम्पन्न गर्ने अन्तिम म्याद २०८२ साल चैत्रसम्म तोकिएको छ। तर हालसम्म कुल निर्माण कार्यको करिब ५७ प्रतिशत मात्र पूरा भएको आयोजनाका अधिकारीहरूले बताएका छन्।
मुख्यमन्त्री कँडेलले प्रदेश सरकारको तर्फबाट निरन्तर निगरानी र खबरदारी गर्ने प्रतिबद्धता जनाउँदै कर्णालीवासीलाई पनि आयोजनाको प्रगतिप्रति सतर्क रहन आग्रह गरे ।
उनले थप भने, “हामीले संघीय सरकारलाई ध्यानाकर्षण गराएका छौँ। अब सबैको साझा प्रयासबाट मात्र यो आयोजना समयमै सम्पन्न हुन सक्छ।”

भेरी–बबई डाइभर्सन आयोजना कर्णाली प्रदेशको ऊर्जा र सिँचाइ विकासका दृष्टिले अत्यन्त महत्वपूर्ण आयोजना मानिन्छ। यस आयोजनाबाट सिँचाइका साथै विद्युत् उत्पादन दुवै उद्देश्य पुरा हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्