२०८३ वैशाख ६ , आइतबार

सुर्खेतका नर्स आन्दोलनमा ऐक्यबद्ध



सुर्खेत । निजी अस्पतालमा कार्यरत नर्सलाई न्यून पारिश्रमिक र सीमित सुविधा प्रदान गरिएको विरोधमा देशव्यापी रूपमा सुरु भएको आन्दोलनलाई सुर्खेतका नर्सहरूले ऐक्यबद्धता जनाएका छन् ।
नेपाल नर्सिङ सङ्घको आह्वानमा सुरु गरिएको उक्त आन्दोलनप्रति प्रदेश अस्पताल सुर्खेतका नर्सहरूले मङ्गलबार प्लेकार्डसहित ऐक्यबद्धता जनाएका हुन् । उनीहरूले नर्सको श्रमको सम्मान गरौँ”, “श्रम शोषण अन्त्य गरौँ”, न्यायोचित पारिश्रमिक सुनिश्चित गरौँ”, विदेश पलायन रोकौँ” भन्ने नारा लेखिएका प्लेकार्डसहित अस्पताल प्राङ्गणमा प्रदर्शन गरेका थिए ।

नेपाल नर्सिङ सङ्घ सुर्खेतकी अध्यक्ष सकुन्तला सापकोटाको नेतृत्वमा टोलीले वीरेन्द्रनगरका निजी अस्पतालहरूको स्थलगत अनुगमनसमेत गरेको छ । उनले अनुगमनका क्रममा धेरै अस्पतालमा आवश्यक संख्याका नर्स नभई अनमीले नै काम गरिरहेको, सट्टा बिदा नपाउने, नौदेखि ११ घण्टासम्म लामो समय काम गर्नुपर्ने र पारिश्रमिक अस्पतालअनुसार फरक फरक रहेको पाइएको बताइन् ।
अध्यक्ष सापकोटाले नर्समाथि भइरहेको श्रम शोषणको अन्त्यका लागि चरणबद्ध आन्दोलन सुरु हुने जानकारी दिँदै बुधबारदेखि दैनिक बिहान १० देखि १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरी ‘पेन डाउन’ कार्यक्रम सञ्चालन गरिने बताइन् ।
यसैबीच, नेपाल नर्सिङ सङ्घ सुर्खेतले जारी गरेको विज्ञप्तिमा २०८२ साल वैशाख २५ गते नै नर्सको तलब, जोखिम भत्ता र रात्रिकालीन भत्तासहितका सुविधा सुनिश्चित गर्न मागपत्र स्वास्थ्य मन्त्रालयमा बुझाइएको स्मरण गराइएको छ । तर, माग कार्यान्वयन नभएपछि सङ्घले आन्दोलन गर्न बाध्य भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १३ गते बिहीबार