सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको प्रदेश सभाको पुनर्निर्माण कार्य सुरु गर्न सुझाव दिएका छन। प्रदेशको गौरव र राज्यको प्रतिष्ठासँग जोडिएको भवनलाई लामो समयसम्म जीर्ण अवस्थामा राख्न नहुने भन्दै शीघ्र मर्मत र सरसफाइ अभियान सुरु गर्नु पर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो ।
आज प्रदेश सभाका सभामुख नन्दा गुरुङ र प्रदेश सभा सचिव जिवराज बुढाठोकीसँग प्रदेशसभामा भएको भेटघाटका क्रममा मुख्यमन्त्री कँडेलले हल बाहेकका अन्य संरचनाको पुनर्निर्माण कार्य नियमित बजेटबाटै सुरु गर्न सुझाव दिए । उनले भने, “बजेटको अभावलाई कारण नबनाई तत्काल काम सुरु गर्नुपर्छ, आवश्यकता परे प्रदेश सरकारले थप बजेटको व्यवस्था गर्छ।” मुख्यमन्त्री कँडेलले सुरुवाती चरणमा आवश्यक आधारभूत व्यवस्थापन १० दिन भित्र प्रशासनिक भवनको पुननिर्माण व्यवस्थापन गर्न निर्देशन दिए ।
मुख्यमन्त्री कँडेलले प्रदेश सरकारको प्राथमिकतामा प्रदेश सभा भवनको पुनर्निर्माण, प्रशासनिक सेवा सहज बनाउने र सभाको नियमित बैठक सञ्चालन सुनिश्चित गर्ने विषयहरू रहेको बताए । सभामुख गुरुङ र सचिव बुढाठोकीले पनि मुख्यमन्त्रीलाई भवन पुनर्निर्माणका लागि आवश्यक सहयोग र प्रक्रिया अघि बढाउने प्रतिबद्वता जनाए ।
प्रकाशित मिति : २०८२ कात्तिक ११ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्