२०८३ साउन १० , आइतबार
वीरेन्द्रनगरमा तिहारको रौनक

किनमेल गर्नेको भीडभाड–देउसी भैलोको उमङ्ग



तिहारको भाइटीका नजिकिदै गर्दा बजारमा रंङ्गीविरङ्गी मालाले बजार भरिएको छ । बजारमा माला, भाइ मसला लगायतका सामग्रीहरु किन्नेहरुको भीड बढेको छ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्यबजार र वीरेन्द्रनगरकमा किनमेल गर्नेको भीड छ । बजारमा किनमेल गर्ने मात्र होइन । देउसी भैलो खेल्नेहरुका कारण पनि बजारमा तिहारको छुट्टै उमंग छ । वीरेन्द्रनगर आसपासदेखि टाढा–टाढासम्मबाट वीरेन्द्रनगरमा भैलो खेल्न आएका छन् ।


तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रूपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको ’त्योहार’ शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ ।

यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ । यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास रहेको छ ।

त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ४ गते मंगलबार