
सुर्खेत । आजभन्दा दुई दसक अघि टेलिफोन गर्न गाउँबाट सुदरमुकाम पुग्नुपथ्र्याे । आफन्त र परदेशीको सन्चो बिसन्चो खबर बुझ्नका लागि लाइनमा बसेर फोन गर्नुपर्ने बाध्यता थियो । नेट–इन्टरनेटको सुविधा थिएन ।
तर अब त्यो समय रहेन । अहिले सबैको हात–हातमा मोवाइल छ । यही मोवाइलबाट देश विदेशमा रहेका आफन्ती र प्रियजनको खबर थाहा पाउन सकिन्छ । इन्टरनेट सुविधा भएका स्थानमा त भिडियो कल गरेर प्रत्यक्ष भेटे रहर नै कुराकानी गर्न सकिन्छ ? दुब्लो, पातलो ? कालो, गोरो जस्ताको तस्तै हेर्न मिल्छ ।
आधुनिक प्रविधिमा भएको चरम विकास र सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले गाउँ–गाउँमा सेवा विस्तार गरेपछि यो सबै सम्भव भएको हो । अन्य प्रदेशमा जस्तै नेपाल टेलिकमले कर्णाली प्रदेशले सञ्चार सेवा विस्तारलाई तीव्रता दिएको जनाएको छ ।
सेवालाइ अझ परपर्दाे र गुणस्तरिय बनाउन गाउँदेखि शहरसम्म सेवा विस्तार गरिरहेको छ । सुर्खेतमा मात्र बुलबुले, एयरपोर्ट र रंगशाला क्षेत्रमा नयाँ टावर निर्माण सम्पन्न गरेको नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक डाक्टर कमल लामिछाने बताउँछन् । सुगममा मात्र होइन, दुर्गममा पनि अहिले सेवा विस्तार गरिरहेको उनको भनाइ छ ।
हालसम्म कर्णाली प्रदेशका विभिन्न स्थानमा ३ सय भन्दा बढी ठाउँमा बिटिएस टावर सञ्चालनमा आएका छन् । थप ३० वटा टावरका लागि आवश्यक विद्युतिकरण कार्यका लागि नेपाल विद्युत प्राधिकरणलाई पेश्की रकम हस्तान्तरण भइसकेको छ । टेलिकमका सेवाहरू १६ वटा स्थानीय तहका मुख्य सहरमा विस्तार गर्ने काम सुरु गरिएको छ । डोल्पाको जगदुल्लामा फोरजी सेवा सञ्चालनमा आइसकेको छ भने हुम्लाको हिल्सामा तिहारपछि माघ मसान्तभित्र सेवा सुरु गर्ने तयारी भइरहेको निर्देशक लामिछानेले जानकारी दिए । हालसम्म कर्णाली प्रदेशका ३७ स्थानीय तहमा नेपाल टेलिकमको सेवा विस्तार भइसकेको छ ।
टेलिकमले जुम्ला रोड, प्रदेश अस्पताल र लेकफर्सा क्षेत्रमा पनि टावर स्थापनाको काम पूरा गरिएको छ । निर्देशनालयका अनुसार दशरथपुर र मेहलकुना क्षेत्रमा पनि टावर निर्माण सम्पन्न भइसकेको छ ।
त्यस्तै पश्चिम सुर्खेतको चौकुने, गुटु र पञ्चपुरी नगरपालिकामा सात वटा नयाँ टावर निर्माण गर्ने योजना अघि बढाइएको छ । त्यसैगरी धुलियाबिट, रामघाट लगायतका क्षेत्रमा रिङरोड स्वरूपको टावर सञ्जाल विस्तार कार्य भइरहेको छ । पछिल्ला आन्दोलनहरूले केही असर पारे पनि जिल्लाबाहिर फाइबर सेवा विस्तारको काम निरन्तर जारी रहेको निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्