२०८३ वैशाख ६ , आइतबार

खस भाषाको शब्दकोश लोकार्पण



सुर्खेत । खस भाषाको पहिलो शब्दकोश लोकार्पण भएको छ । जुम्ला निवासी लेखक रामानन्द आचार्यद्वारा लिखित शब्दकोशको कर्णालीको सामाजिक विकास मन्त्रालयले प्रकाशित गरेको हो ।
मन्त्रालयको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान र मध्यपश्चिमाञ्चल साहित्य परिषद्, काठमाडौँको सहकार्यमा बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गरिएको हो ।
सो अवसरमा बोल्दै कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले नेपाली भाषाको मातृभाषाका रूपमा रहेको खस भाषाको जगेर्ना र पुस्तान्तरणमा यस शब्दकोशले महत्वपूर्ण टेवा पुग्ने अपेक्षा व्यक्त गरे । उनले भाषा र संस्कृतिको पुस्तान्तरणका लागि यस्ता पुस्तकहरू मार्गदर्शन बन्ने कुरामा जोड दिए । खस भाषा शब्दकोश प्रकाशनको जिम्मेवारी मन्त्रालयलाई दिएकोमा कृतज्ञता प्रकट गर्दै उनले लेखक रामानन्द आचार्यको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा भाषाशास्त्री तथा विद्वान प्राध्यापक डा. माधव प्रसाद शास्त्रीले शब्दकोश प्रकाशनले कर्णालीको भूगोल र शिर उच्च राख्ने कार्य भएको बताए । ‘कर्णालीको एक छाती चौडा भएको छ, भूगोलको एक चुचुरो थपिएको छ,’उनले भने, शब्दकोश लेख्ने कार्य सजिलो छैन, यो जटिल कार्य गर्ने साहस गर्नुभएकोमा हामी गौरवान्वित भएका छौँ ।’ नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य डा. मधुसुदन गिरीले कर्णालीका सांस्कृतिक सम्पदाहरूको चर्चा गर्दै यसको संरक्षण र जगेर्नाका लागि अभियान चलाउन जरुरी भएको बताए ।

प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रबार