२०८३ वैशाख ६ , आइतबार

सहिदका परिवार र घाइतेका लागि ५ करोड बजेट निकासा



सहिद जीवन निर्वाह विशेष भत्ताका लागि कर्णाली प्रदेश सरकारले पाँच करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । जसमध्ये कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ को दफा ५ को उप दफा ३ बमोजिम सहिद स्मृति भत्ता वितरणका लागि २ करोड ५५ लाख ७२ हजार रुपैयाँ र जीवन निर्वाह विशेष भत्ता वितरणका लागि २ करोड २९ लाख ८० हजार रुपैयाँ गरी कुल ४ करोड ८५ लाख ५२ हजार रुपैयाँ स्थानीय तहमा अख्तियारी पठाउन स्वीकृति दिएको हो । यो रकम आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत पठाइने छ । यसले शहीद परिवार र जीवन निर्वाहमा कठिनाइ भोगेका नागरिकलाई राहत पुग्ने अपेक्षा छ ।
मन्त्रिपरिषद बैठकले प्रदेशको विकास, सुशासन र सामाजिक न्यायसँग सम्बन्धित विभिन्न ६ वटा कार्यविधि तथा निर्देशिकालाई समेत स्वीकृति प्रदान गरेको हो ।

प्रकाशित मिति : २०८२ असोज २८ गते मंगलबार