
सुर्खेत । दशै खुशी र हर्षको पर्व हो । जसले वर्षाैपछि प्रियजनसँग भेटघाट गराउँछन् । सम्बन्धहरुलाई नवीकरण गर्छ । कर्मथलोबाट जन्मथलो पु¥याउँछ र मान्यजनबाट ग्रहण गरिने टीका र आर्शिवादले सन्तुष्टि दिन्छ ।
तर यसपालिको दशै भने त्यति सुखद हुन सकेको छैन । किनकि कर्णाली प्रदेशभर विभिन्न ४८ ठाउँमा ५१ वटा सवारी दुर्घटना भए । दुर्घटनामा परेर ७ जनाको मृत्यु भयो, एकसय ३१ जना घाइते भएका छन् । घाइतेमध्ये ५५ जना गम्भीर छ । यहीका कारण यसपालिको दशै सुखद् हुन नसकेको हो ।
दशैको अवधिमा सुर्खेतमा १९ वटा, रुकुमपश्चिममा १०, सल्यानमा ६, जाजरकोट, दैलेख र जुम्ला चार÷चार, कालिकोटमा तीन र डोल्पामा एउटा सवारी दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख माधव श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परेर सल्यानमा चार, सुर्खेत, दैलेख र जाजरकोटमा भएको सवारी दुर्घटनामा एक÷एक जनाको मृत्यु भएको हो । त्यस्तै सुर्खेतमा ४३, दैलेखमा २६, रुकुमपश्चिमा २५, जाजरकोटमा १५, जुम्लमा ८, सल्यानमा ८, कालिकोटमा ५ र डोल्पामा एक जना घाइते भएका हुन् । गम्भीर घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ भने सामान्य घाइते भएकाहरु उपचारपछि घर फर्किएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सवारी दुर्घटनामा सुर्खेतमा १९ जना गम्भीर र २४ जना सामान्य घाइते भएका थिए । त्यस्तै सल्यानमा ७ जना गम्भीर र १ जना सामान्य, रुकुम पश्चिममा ११ जना गम्भीर र १४ जना सामान्य घाइते भएका थिए । जाजरकोटमा सामान्य १५, दैलेखमा २६, कालिकोटमा ५, जुम्लामा ८ र डोल्पामा एक जना सामानय घाइते भएका थिए । चाडपर्वमा हुनसक्ने सम्भावित अपराध तथा सवारी दुर्घटना न्यूनीनकरणका लागि प्रहरीले प्रदेशभर तीन हजार ९०८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्