२०८३ वैशाख ५ , शनिबार
चाडपर्व लक्षित सुरक्षा योजना

सुर्खेतमा मात्रै साढे आठसय प्रहरी खटाइयो



सुर्खेत । चाडपर्वलाई लक्षित गरेर प्रहरीले सुर्खेतमा विशेष सुरक्षा व्यवस्था लागू गरेको छ । चाड पर्वको बेला हुन सक्ने अपराधिक गतिविधि हुन नदिन प्रहरीले यस्तो सुरक्षा व्यवस्था लागू गरेको हो ।
जसका लागि प्रहरीले सुर्खेतमा मात्रै ८ सयभन्दा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख सुधिरराज शाहीले जानकारी दिए । शाहीका अनुसार चाडपर्व सुरक्षा योजनाअन्तर्गत जिल्लाभर ८ सय ५० जना प्रहरी जनशक्ति परिचालन गरिएको  छ ।
जस अन्तरगत विभिन्न स्थानमा २८३ जना प्रहरीलाई पिकेट ड्युटी, ७१ जना प्रहरीलाई संयुक्त, नियमित तथा आकस्मिक जाँच, ५० जनालाई मोबाइल गस्ती र , २७ जना प्रहरीलाई कमाण्ड पोष्ट तथा जिल्ला रिजर्भमा राखिएको छ ।त्यस्तै मोटरसाइकल गस्ती र आकस्मिक कारबाही (स्ट्राइकिङ) का लागि ६४ जना प्रहरी परिचालन गरिने जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार सूचना संकलनलाई प्राथमिकता दिँदै सादा पोसाकमा ११ जना प्रहरी परिचालन गरिनेछ ।

यस्तै यात्रुहरूलाई सहयोग पु¥याउन २७ जना प्रहरी यात्रु सहायता कक्षमा परिचालन गरिएको छ । महत्त्वपूर्ण प्रतिष्ठान, सरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाहरू र आर्थिक कारोबार हुने स्थानहरूमा गस्ती गर्न तथा झैझगडा, जुवातास, चोरी, लुटपाटजस्ता आपराधिक गतिविधि नियन्त्रणको लागि १ सय ४४ जना प्रहरी खटिनेछन् । बजार अनुगमन, मातहत अनुगमन तथा आकस्मिक सभा, जुलुस, धर्ना लगायतका कार्यक्रममा तत्काल परिचालन हुन ५५ जना प्रहरीलाई खटाउने योजना बनाइएको उनले बताए । कार्यालय सुरक्षाका लागि १ सय १६ जना प्रहरी जनशक्ति खटाइएको छ । चाडपर्वका बेलाका सम्भावित आपराधिक गतिविधि, झैझगडा,चोरी, लुटपाट तथा सवारी दुर्घटना न्यूनीकरण गरी आम नागरिकलाई सुरक्षित महसुस गराउने उद्देश्यले सुरक्षा योजना ल्याइएको जिल्ला प्रहरी प्रमुख सुधिरराज शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असोज ११ गते शनिबार