
भनिन्छ, बाआमाका लागि सबै सन्तानै उतिकै प्रिय हुन्छन् । व्यवहारमा भने कान्छो छोरासँगै बढी प्रेम र स्नेह देखिन्छ । सायद, यही भएर होला अपवाद बाहेक दाजुभाई अलग बस्दा बाआमा कान्छो छोरासँगै हुन्छन् । यही कारणले कान्छो छोरालाई बुढेसकालमा बाआमाको सेवा गर्नुपर्ने जिम्मेवारी हुन्छ । जुनसुकै पेशा व्यवसाय गरिरहेकाहरु पनि बाआमाको रेखदेखका लागि भएपनि घर पाएक कर्मथलो रोज्छन् । तर महोत्तरीका रामधारी ठाकुरले भने घरभन्दा सयौँ कोस टाढा रहेको सुर्खेतको वीरेन्द्रनगरलाई कर्मथलो बनाएका छन् । चार दशकदेखि वीरेन्द्रनगर बजारमा सैलुन व्यवसाय गरिरहेका ठाकुर पनि कान्छो छोरा हुन् । आफ्नै गाउँघरमा बसेर पेशा व्यवसाय गर्ने रहर उनलाई नभएको होइन । तर गाउँमा सैलुन व्यवसायको राम्रो व्यापार थिएन । त्यही भएर उनी ४२ वर्षअघि अर्थात विस २०३९ सालमा सुर्खेत झरे । सुरुवातदेखि सैलुनको सीप सिकेका अहिले त सैलुनका मास्टर भइसेके । उनीसँग ग्राहकको रोजाई अनुसारका कपाल काट्ने सीप र क्षमता छ । ४२ वर्षदेखि कैची चलाउँदै आएका रामदासको जुम्लारोडमा आफ्नै सैलुन व्यवसाय छ । उमेरले ६ दशक पार गरिसकेका उनलाई जेठा छोरा (मनोज) ले सघाउँदै आएका छन् ।
पूर्वको महोत्तरी रामधारीलाई २०४९ सालमा वीरेन्द्रनगरको काठ उद्योगमा काम गर्ने आफन्तीले उनलाई सुर्खेत ल्याएका हुन् । सुरुवातको केही वर्ष कपाल काट्ने काम सिके । उ बेला एक जनाको कपाल काटेको शुल्क चार/पाँच रुपैयाँ हुन्थ्यो । आम्दानी निकै कम थियो । महंगी थिएन् । खर्च चलाउन पनि समस्या भएन । कपाल काट्ने सीप सिकेपछि भने २०४० सालमा आफैले वीरेन्द्रनगरको जनमावि स्कूलकै कर्नरमा सैलुन सञ्चालन गरे । उ बेला जनमावि लाइन र गणेशचौकमा चल्दाको व्यापार थियो । अहिलेको मेनबजार बनेकै थिएन् । बजार विस्तार हुन थालेपछि हुलाक कार्यालय अगाडि पनि सैलुन सञ्चालन गरे । त्यतिपछि उनका दुई वटा सैलुन पसल भए । हुलाक अगाडिको पसल भने भतिज (माइला दाइको छोरा)को लागि खोलिदिएका थिए । तर भतिज विदेश गएपछि त्यो पसल बिक्री गरिदिए ।

रामदासका छोरा मनोज ठाकुर
रामदासले उर्जाशिल उमेर र समय सैलुन व्यवसायमै खर्चिए । यद्यपी सुरुवाती बसाई सहज थिएन् । तर पनि खुशीका साथ कर्म गरे । निरन्तरको कर्म र आत्मविश्वासकै कारण उनी सफल भए । सैलुन व्यवसायबाट सबै आवश्यकता पूरा गरे । छोराछोरीलाई पढाए/लेखाए । सबै सन्तानलाई वीरेन्द्रनगरमै ल्याएर हुर्काए । ‘चार छोराछोरीमध्ये तीन वटा गाउँमै जन्मिए तर यही ल्याएर हुर्काएको हुँ’ उनी भन्छन्, ‘अर्की छोरीको जन्म भने सुर्खेत भएको हो ।’ आफूले विद्यालयमा पाइला नै नटेकेका रामधारीले सबै छोराछोरीलाई उच्च शिक्षासम्म पढाएका छन् । ‘हाम्रो पालामा पढाइ लेखाइको वास्ता नै थिएन’ उनी भन्छन्, ‘बुवाआमाले पठाउनु भएन, म आफै स्कूल गइन् ।’ कखरा नै नसिकेका रामदासले पढाइको महत्व बुझेकै कारण छोराछोरीलाई राम्रो शिक्षा/दीक्षा दिए । दुईमध्ये कान्छो छोरा हाल विदेशमा छन् । छोरीहरुको विवाह गरिसकेका छन् ।
चार दशक सुर्खेतमै रमाएका उनी अब भने गाउँ फर्कन पाए हुन्थ्यो भन्ने सोचमा छन् । ‘घरमा श्रीमति (जीवनसाथी) एक्लै छे, अब उतै जाने सोचमा छु’ उनी भन्छन्, ‘जेठो छोराले व्यवसाय समालेको भए ढुक्क हुन्थ्यो ।’ ४२ वर्षदेखि दारी र कपाल काटिरहेका उनी एक अर्थमा सैलुन मास्टर नै हुन् । यो अवधिमा धेरैलाई कपाल काट्न सिकाए । कतिलाई आफ्नै पसलमा रोजगारी पनि दिए । तर हिजोआज भने बढ्दो उमेरका कारण सैलुन व्यवसाय गर्न सहज छैन । ‘६५ वर्ष पुगे अब त शरिरले पनि आराम खोज्ने बेला भयो’ उनी थप्छन्, ‘रहर भएपनि यो व्यवसायमा टिकीरहन शरिर साथ दिँदैन ।’ थाहै नपाएर विवाह बन्धनमा बाँढिएका उनलाई बुढेसकालमा एक अर्काेको साहार बन्ने रहर छ । गाउँघरको चलन अनुसार बाआमाले सानै उमेरमा मागी विवाह गरिदिएका हुन् । ‘१०/१२ वर्षको उमेरमा विवाह भयो तर जान्ने नहुँदासम्म घरमा ल्याउने चलन थिएन’ उनले सुनाए, ‘त्यो बेला तीन पटक माग्न जाने चलन थियो तर ठूलोभएपछि मात्रै घरमा ल्याउन पाइन्थ्यो ।’
२०१८ सालमा रामता र आमा कलावति देवीबाट कान्छो सन्तानको रुपमा जन्म लिएका रामधारी मध्यम बर्गिय परिवारमा हुर्किएका हुन् । ‘खानापिन पुग्थ्यो, परिवारमा दुःख थिएन’ उनी सुनाउँछन्, ‘आर्थिक रुपले सम्पन्न नभएपनि खेतिपातीका लागि जग्गा जमिन टन्नै थियो ।’ खेतिपाती बाहेक उनका बुवा बर्दिवासमा काठ मिश्रीको काम गर्थे । सानोमा उनी घर छोडेर बुवासँगै बर्दिवासमा बसे । त्यहाँ उनले एकजना प्रिय साथी भेटिए । ‘सानोमा मेरो बहुत प्यार गर्ने एक जना साथी थिए’ आफ्नै लवजमा भने, ‘हामी एक अर्कालाई निःस्वार्थ माया गथ्र्यौँ, सँगै खान्थ्यौँ, खेल्थ्यौँ ।’ बाल्यकालमा सँगै रमाएका साथीको नाम भने उनले भुलिसकेका रहेछन् । उही साथीसँग एक दिन गाउँबाट भाग्ने सरसल्लाह गरे । भर्खर १३/१४ का बालबच्चा भएपनि उनीहरुले फ्लिम हेर्ने जाने बहानमा भाग्ने योजना बनाए । त्यसका लागि घरबाट फ्लिम हेर्न विराटनगर जान्छुभन्दै निस्किए । तर विराटनगर नएर सिधै इलाम पुगे । इलाममा करिव ६ महिना काम गरे । गाउँघरमा खोज तलासी चल्यो । अहिलेको जस्तो सञ्चारको सुविधा नभएका कारण घरपरिवारले भेटाउन सकेनन् । तर आमाले छोरो आएपछि दान चढाउँछु भनेर भगवान पुकारिन् । उता चिया बगानमा काम गर्दागर्दै एक दिन दुबै जना साथीहरु निकै थाके । त्यसपछि भारतको सिलगडीमा गएर मजदुरी गर्ने योजना बनाए । किनकि सिलगडीमा राम्रो कमाई हुन्छ भन्ने सुनेका थिए । तर कहिलै भारत नगएका उनीहरु सिलगडी नपुग्दै एक भारतीयको फन्दामा परे । ती भारतीयले उनीहरुलाई भुटान पठाउने योजना बनाए । केही दिन सिलगडी नजिकै रोकिए । दलालकै योजना अनुसार भारतीय नक्कली पासपोर्ड बनाएर र भुटानको यात्रा तय गरे । भुटान पुगेपछि विद्युत आयोजनामा मजदुरी गरे । झण्डै चार/पाँच महिनापछि दशै मनाउन गाउँ फर्किए । गाउँमै दशै तिहार र छड पर्व मनाए । झण्डै एक वर्ष भारतको पन्जाव हरियाना सहरमा मजदुरी गरे । पुनः घर फर्किएपछि भने एक जना आफन्तीको साथ लागेर सुर्खेत आए ।
उ बेला सुर्खेत आउन निकै गाह्रो थियो । यातायातको सुविधा नहुँदा भारत गोरखपुरको बाटोहुँदै आउने गरिन्थ्याे । भारतीय सीमानाकासम्म यातायातको राम्रो सुविधा थियो । नेपालगञ्जदेखि सुर्खेत आइपुग्न भने निकै कठिन यात्रा गर्नुपथ्र्याे । नेपालगञ्जदेखि छिन्चुसम्म साना गाडी चल्थे । भेरी नदीमाथि पुल बनेको थिएन । त्यसकारण पनि धेरै पटक त उनी हिडेरै नेपालगञ्जसम्म गएका छन् । नेपालगञ्ज पुगेपछि भने भारतहुँदै घर पुग्थे र दुरी टाढा हुँदा कति रहर र इच्छाहरु मनमै मरे ।
जन्म भूमिभन्दा टाढा बसेर कर्म गरिरहेका रामदाससँग जीवनमा सुखदुःखलाई सजिलै पचाउन सक्ने क्षमता छ । तर छोटो समयमै परिवारका चार जना सदस्यलाई गुमाउँदाको क्षण भने पीडादायी बन्यो । ‘जेठो दाइको मृत्यु भएको तीन दिनमै बहिनी मृत्यु भयो’ उनले दुःखको क्षण सम्झदै भने, ‘दाइ र बहिनीको पिरैपिरमा बुवा आमा पनि वर्षदिनमै स्वर्ग जानु भयो ।’ यसबाहेक जीवनका उकाली ओरालीमा आउने हरेक क्षणहरुलाई सरल रुपले कटाउने गरेका बताउँछन् । हुन त उनी हुर्के बढेको गाउँघर र आफन्तीहरुभन्दा सयौँ माइल टाढा छन् । तर कर्मथलो सुर्खेती भूमि अहिले पनि उतिकै प्रिय लाग्छ । सुरुवाती दिनमा कर्मथलोमा टिक्न भने निकै संघर्ष गर्नु परेको उनी सुनाउँछन् । जन्मभूमिभन्दा टाढा बसेर ४२ वर्षसम्मको कर्म सबैका लागि प्रेरणादाय छ ।
प्रतिक्रिया दिनुहोस्