२०८३ कात्तिक १३ , शुक्रबार
सामाजिक विकास मन्त्रीको निर्देशन

‘जनताको मूल्यांकनमा पास हुने गरी काम गर्नुहोस्’



सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जनताको मूल्याङ्कनमा पास हुने गरी काम गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् । बुधबार वीरेन्द्रनगरमा आयोजित जिल्लास्तरीय स्वास्थ्य क्रियाकलापहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठिको उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । ‘कागजी मूल्यांकनमा नभई जनताको मूल्यांकनमा उत्तिर्ण हुनेगरी काम गरौँ’ मन्त्री भण्डारीले भने, ‘हाम्रो काम कारवाहीहरु सेवाग्राहीलाई चित्त बुझ्ने हुनुपर्छ ।’


करारका जनशक्ति हटाउने संघीय सरकारको निर्णयप्रति भने मन्त्री भण्डारीले असहमति जनाए । ‘पर्याप्त दरबन्दी र दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा अस्पतालदेखि गाउँ वस्तीमा करारमा जनशक्ति मार्फत नै स्वास्थ्य दिँदै आएका छन्’ उनले भने, ‘संघीय सरकारले स्वास्थ्य क्षेत्रको हकमा पुर्नविचार गर्नुपर्छ ।’
यस्तै स्वास्थ्य सेवा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाम सुनारले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता र मौलिक हक भएकाले त्यसको प्राप्तिमा असर पर्ने गरी कुनै पनि निर्णय गर्न नहुने बताए । सामाजिक विकास मन्त्रालयका सचिव ढोलकराज ढकालले अस्थायी तथा स्थायी बसाई सराईका कारण ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिस घट्दै गएको र शहरमा सेवाग्राहीको चाप बढ्दै गएकाले सेवा प्रदायक स्वास्थ्य संस्थाको पुर्नसंरचना गर्न आवश्यक रहेको बताए । स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधबार