सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १७ जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–४ जिरोड्यामस्थित एक घरमा जुवाखालबाट उनीहरूलाई गएराति पक्राउ गरिएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी गणबाट खटिएको ४५ जना प्रहरीको संयुक्त टोलीले ३४ वर्षीय घरधनी सहित १७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार जुवाखालबाट एक लाख पाँच हजार ६ सय ७० रुपैयाँ नगद, २८ बुक तास र लङ्गुरबुर्जा खेलका छ वटा गोटी बरामद गरिएको छ। पक्राउ पर्नेमा दैलेखका १०, अछामका तीन, सुर्खेतका तीन र बर्दियाका एक जना रहेका छन्। जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो।
पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत सार्वजनिक नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्