सुर्खेत । १९१० को दशकमा नेपालमा गिद्धको संख्या १० देखि १६ लाखको हाराहारीमा थियो । तर अहिले घटेर गिद्धको संख्या न्यून छ ।
नेपाल पन्छी संरक्षण सङ्घको तथ्याङ्क अनुसार नेपालमा हाडफोर, सेतो, डङ्गर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी नौ प्रजातिका गिद्ध पाइन्छ । ती गिद्धमध्ये डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र लामो ठुँडे गिद्ध अति सङ्कटापन्न, सेतो गिद्ध सङ्कटापन्न, हिमाली र हाडफोर गिद्ध सङ्कटको नजिक रहेका छन् । खैरो गिद्ध भने सामान्य अवस्थामा छन् ।

तथ्याङ्क अनुसार नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डंगर गिद्धको अवस्था गम्भीर संकटमा छ । हाल नेपालमा डंगर गिद्धको संख्या दुई हजारभन्दा कम रहेको अनुमान छ । सानो खैरो गिद्ध ५० देखि ७५, सुन गिद्ध २०० देखि ४०० र सेतो गिद्ध ३०० देखि एक हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । हिमाली गिद्धको संख्या पनि १० हजारभन्दा कम रहेको उल्लेख छ । यीमध्ये डंगर, सानो खैरो र सुन गिद्ध अति संकटापन्न तथा सेतो गिद्ध संकटापन्न अवस्थामा छन् ।

सन् २०२५÷२६ को अभिलेखअनुसार नेपालका विभिन्न स्थानमा गरिएको सर्वेक्षणमा ८५१ वटा गिद्धका गुँड भेटिएका छन् । तीमध्ये ७९३ वटा डंगर गिद्धका गुँड रहेको तथ्यांक छ । दाङ, कपिलवस्तु र नवलपुरलगायतका जिल्लामा गिद्धका गुँड बढी भेटिएका छन् ।
यसरी गिद्ध घट्नुको मुख्य कारण पशुको उपचारमा प्रयोग हुने हानिकारक औषधि हो । विशेषगरी पीडानाशक औषधि ‘डाइक्लोफेनेक’ प्रयोग गरिएका मृत पशुको सिनो खाँदा गिद्धको मिर्गौला खराब हुने र केही दिनमै मृत्यु हुने गरेको पशु विज्ञहरुले बताएका छन् ।
पशुमा प्रयोग हुने डाइक्लोफेनेक, केटोप्रोफेन, निमेसुलाइड र एसिक्लोफेनेक औषधिका कारण नेपालमा गिद्धको अस्तित्व संकटमा पर्दै गएको छ । नेपालबाट गिद्ध नै संकटमा पर्न थालेपछि सरकारले हाल यी चार प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । गएको वैशाख १० गतेदेखि सरकारले निमेसुलाइड औषधि पूर्ण रुपमा बिक्री वितरणमा रोक लगाएको छ । नेपालमा गिद्ध संरक्षणका लागि विभिन्न प्रयास भइरहे पनि पशु उपचारमा हानिकारक औषधिको प्रयोग, वासस्थान विनाश र विद्युतीय तारजस्ता चुनौती कायम छन् ।
नेपाल पन्छी संरक्षण संघले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको गिद्धमैत्री पशु चिकित्सा अभ्याससम्बन्धी अन्तरक्रियामा सहभागीहरुले पशु उपचारमा सुरक्षित औषधिको प्रयोग र गिद्ध संरक्षणमा सहकार्य आवश्यक रहेको बताएका छन् ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेतका वरिष्ठ पशु चिकित्सक डाक्टर ऋषभ गुराँगाईले डाइक्लोफेनेक प्रयोग गरिएको मृत पशुको सिनो खाएपछि गिद्धको मिर्गौला खराब हुने र केही दिनमै मृत्यु हुने गरेको बताए । नेपालमा डाइक्लोफेनेकको प्रयोग तथा उत्पादनमा प्रतिबन्ध लगाइए पनि केही ठाउँमा अझै लुकिछिपी प्रयोग भइरहेको उनले जानकारी दिए ।

डाइक्लोफेनेकको सुरक्षित विकल्पका रुपमा मेलक्सिकाम प्रयोग गर्न सकिने उनको भनाइ छ । वैज्ञानिक परीक्षणबाट गिद्धका लागि सुरक्षित प्रमाणित भएको टोलफेनामिक एसिड पनि अर्को विकल्प रहेको उनले बताए । तर, केटोप्रोफेन, निमेसुलाइड र एसिक्लोफेनेकजस्ता औषधि गिद्धका लागि विषालु हुने प्रमाणित भएकाले पशु उपचारमा तिनको प्रयोग नगर्न उनले सुझाव दिए ।
गिद्धको मृत्युमा डाइक्लोफेनेकको भूमिका अनुसन्धानबाट समेत पुष्टि भएको छ । भारतमा गरिएको अध्ययनमा मृत गिद्धको शरीरमा डाइक्लोफेनेक भेटिएको र मिर्गौलाले काम गर्न छाड्दा शरीरका भित्री अंगमा युरिक एसिड जम्मा हुने ‘भिसरल गाउट’ समस्या देखिएको पाइएको थियो । डाइक्लोफेनेक खुवाइएको पशुको मासु खुवाउँदा पनि गिद्ध मर्ने पुष्टि भएको अध्ययनले देखाएको छ ।
पशुपन्छी रोग अन्वेषण तथा परीक्षण प्रयोगशाला सुर्खेतका प्रमुख डाक्टर उत्तम आचार्यले पशुपन्छीको स्वास्थ्य रक्षा र वातावरणीय सन्तुलन कायम गर्न औषधिको सुरक्षित तथा जिम्मेवार प्रयोग आवश्यक रहेको बताए । पशु उपचारमा प्रयोग हुने औषधिले वन्यजन्तु तथा वातावरणमा पार्न सक्ने असरबारे सम्बन्धित निकाय सचेत हुनुपर्ने उनको भनाइ थियो ।

गिद्धमैत्री पशु चिकित्सा अभ्यासलाई प्रभावकारी बनाउन पशु चिकित्सक, स्थानीय तह, वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह तथा सरकारी निकायबीच सहकार्य आवश्यक रहेको कृषि विकास कार्यालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले बताए । पशु चिकित्सक, फार्म सञ्चालक र किसानलाई नियमित तालिम तथा सचेतना दिनुपर्नेमा उनले जोड दिए ।
डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृत राधाकृष्ण दासले पारिस्थितिक प्रणालीमा गिद्धको महत्वपूर्ण भूमिका रहेको भन्दै यसको संरक्षणबारे व्यापक जनचेतना फैलाउनुपर्ने बताए । गिद्धको विनाशले मानव स्वास्थ्यमा समेत असर पार्न सक्ने भएकाले संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । उनका अनुसार विद्युतीय तार, वासस्थान विनाश र नयाँ विषादीका कारण गिद्ध संरक्षणमा थप चुनौती देखिएका छन् ।
नेपाल पन्छी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले पशु उपचारमा औषधिको छनोट, वातावरणीय सन्तुलन र निकायबीचको समन्वयलाई गिद्ध संरक्षणसँग जोडेर आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
चार प्रकारका औषधि पूर्ण प्रतिबन्ध
यसैबीच औषधि व्यवस्था विभागले गिद्ध तथा वातावरणमा नकारात्मक असर पार्न सक्ने केटोप्रोफेन, निमेसुलाइड र एसिक्लोफेनेकजस्ता औषधिको पशुपन्छीमा प्रयोग, नयाँ दर्ता, उत्पादन अनुमतिपत्र, बजार बिक्रीवितरण प्रमाणपत्र तथा पैठारीसम्बन्धी सिफारिसमा रोक लगाएको जनाएको छ ।
विभागले २०८३ वैशाख १० गते जारी गरेको सूचनाअनुसार बजारमा मौज्दात रहेका ती औषधि वैशाख ८ गतेदेखि बढीमा छ महिनासम्म बिक्रीवितरण गर्न सकिने र त्यसपछि बाँकी औषधि उत्पादक वा आयातकर्तालाई फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । गिद्धले मरेका पशुको सिनो खाएर वातावरण सफा राख्नुका साथै रोग फैलिनबाट रोक्न महत्वपूर्ण भूमिका खेल्छन् । त्यसैले पशु उपचारमा गिद्धमैत्री औषधिको प्रयोग, वासस्थान संरक्षण र सरोकारवाला निकायबीच समन्वयलाई प्रभावकारी बनाउन सके गिद्ध संरक्षणसँगै वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्