सुर्खेत । आगामी शुक्रबारदेखि आइतबारसम्म कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनलाई आधार मान्दै प्रदेश सरकारले बुधबार एक सूचना जारी गरी बाढी, पहिरो तथा गेग्रान बहावको गम्भीर जोखिम रहेकाले सम्पूर्ण कर्णालीबासीलाई पूर्वसावधानी अपनाउन अपिल गरेको हो।
प्रदेश सरकारका सचिव रमेश केसीद्वारा जारी सूचनामा विशेष गरी जोखिमयुक्त सडकखण्डहरूमा यात्रा नगर्न र अति आवश्यक कामपरी यात्रा गर्नैपर्ने अवस्था आएमा स्थानीय प्रशासन तथा यातायात सम्बन्धी पूर्वसूचना बुझेर मात्र गन्तव्यतर्फ लाग्न भनिएको छ। सडकमा पहिरो जाने, ढुङ्गा खस्ने, बाटो भासिने वा नदी तथा खोलामा पानीको बहाव बढेको अवस्थामा जोखिम मोलेर बाटो पार नगर्न आग्रह गर्दै सरकारले जोखिमयुक्त स्थानहरूमा यात्रा गर्दा सतर्क रहन ध्यानाकर्षण गराएको छ।

विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, स्वयंसेवक तथा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूलाई प्रतिकार्यका लागि उच्च तयारी अवस्थामा रहन निर्देशन दिएको छ। सम्भावित पहिरोबाट राजमार्ग तथा सडक सञ्जाल अवरुद्ध हुन नदिन जोखिमयुक्त क्षेत्रमा डोजर, एक्साभेटर र लोडरलगायतका भारी उपकरणहरू तयारी अवस्थामा राख्न भनिएको छ। साथै, पूर्वसूचनाका आधारमा बाढी र पहिरोको उच्च जोखिममा रहेका बस्तीका परिवारहरूलाई विपद् आउनुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय प्रशासन र सरोकारवाला निकायहरूलाई आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्