२०८३ कात्तिक २१ , शनिबार
सल्यान स्क्रव टाइफसबाट ७ जनाको मृत्यु

 प्रदेश सरकारले पठाउनेभयाे स्वास्थ्यकर्मी र किट



सुर्खेत । सल्यानको दार्मा गाउँपालिकामा स्क्रव टाइफसको प्रकोप फैलिई बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि कर्णाली प्रदेश सरकारले रोकथाम, परीक्षण र उपचारका लागि स्वास्थ्यकर्मीको टोलीसहित आवश्यक औषधि तथा परीक्षण किट परिचालन गरेको छ। प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य शिविर सञ्चालन गरी परीक्षण र उपचार प्रक्रियालाई तीव्र पारिएको हो। दार्मा गाउँपालिकाका वडा नम्बर १, ५ र ६ मा प्रकोपको प्रभाव सबैभन्दा बढी देखिएको छ भने यस रोगको सङ्क्रमणका कारण हालसम्म सात जनाको मृत्यु भइसकेको छ।

प्रकोप नियन्त्रणका लागि स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमै खटिएर स्थानीयको रगत परीक्षण तथा उपचारमा जुटेको छ। सङ्क्रमण पुष्टि र पहिचानका लागि प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट २ सय र स्वास्थ्य सेवा कार्यालय सल्यानबाट २ सय ५० गरी कुल ४ सय ५० वटा परीक्षण किट दार्मा पठाइसकिएको छ। यद्यपि, सङ्क्रमणको दर तीव्र रहेकाले प्रभावित क्षेत्रमा तत्काल कम्तीमा थप एक हजार थान परीक्षण किट आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

दार्मामा देखिएको सङ्कटलाई गम्भीरतापूर्वक लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मङ्गलबार बिहान प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई तत्काल थप एक हजार परीक्षण किट, आवश्यक औषधि र चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा पठाउन कडा निर्देशन दिएका छन्। मुख्यमन्त्री शाहीले प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य शिविर सञ्चालन गरी परीक्षण, उपचार र रोकथामका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन मातहतका निकायलाई स्पष्ट निर्देशन दिएका हुन्।

यसैबिच, दार्मामा सङ्क्रमण फैलिएसँगै सल्यानकै कालीमाटी र कुमाख गाउँपालिका तथा बागचौर नगरपालिकाले पनि स्क्रव टाइफस परीक्षण किटको माग गरेका छन्। स्थिति नियन्त्रण बाहिर जान नदिन स्वास्थ्य सेवा कार्यालय सल्यानले स्क्रव टाइफस र डेंगी परीक्षण किटका साथै सिप्रोफ्लोक्सिन, एजिथ्रोमाइसिन र प्यारासिटामोल जस्ता अत्यावश्यक औषधि उपलब्ध गराउन प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रलाई यसअघि नै पत्राचार गरिसकेको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काका अनुसार जिल्लाका जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउँदै माग गरिएका परीक्षण किट तथा औषधिहरू सल्यान पठाउने तयारी भइरहेको छ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मंगलबार