२०८३ असोज ७ , बुधबार
कर्णाली मन्त्रिपरिषद् निर्णय

कृषि सचिवमा डा. रिसाल, जगदुल्लाको सञ्चालकमा वरिष्ठ सिडिई सुवेदी



सुर्खेत । कर्णाली प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रिक्त प्रदेश सचिव पदमा डा. चन्द्रप्रसाद रिसाललाई कामकाजमा खटाउने निर्णय गरेको छ। बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डा. रिसाललाई वीरेन्द्रनगरस्थित कृषि मन्त्रालयको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।

​बैठकले कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८० को दफा १५ को उपदफा (१) बमोजिम एघारौँ तह वा सोसरहका पदमा पदस्थापन गर्ने प्रदेश सरकारको अधिकार सोही ऐनको दफा १३७ को उपदफा (१) अनुसार मुख्यमन्त्री मङ्गलबहादुर शाहीलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ। उक्त निर्णयसम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशन गरिने जनाइएको छ।

​यसैगरी, मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको सचिवालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ।

​साथै, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका योजना महाशाखा प्रमुख एवं वरिष्ठ सिडिई रमेश सुवेदीलाई जगदुल्ला हाइड्रोपावर कम्पनीको सञ्चालक समिति सदस्यमा प्रदेश सरकारका तर्फबाट मनोनयन गर्ने निर्णयसमेत गरिएको छ। मन्त्रिपरिषद् बैठकका यी निर्णयहरूबारे प्रदेश सरकारकी प्रवक्ता कल्याणी खड्काले जानकारी दिनुभएको छ।

प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार