२०८३ असोज ६ , मंगलबार
सरकारको प्राथमिकता मानसिक स्वास्थ्य

कर्णालीमा विशेष प्याकेजसहित सचेतना र उपचार कार्यक्रम



सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखा पर्न थालेपछि प्रदेश सरकारले यसको न्यूनीकरण र रोकथामलाई प्राथमिकतामा राख्दै विशेष कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ। विगतका वर्षहरूमा अन्य स्वास्थ्य कार्यक्रमहरूसँग जोडेर नाममात्रको रूपमा समेटिने गरिएको मानसिक स्वास्थ्यको विषयलाई चालु आर्थिक वर्षमा भने एकीकृत प्याकेजका रूपमा अघि बढाउन लागिएको हो। मानसिक रोगको बेलैमा उपचार नहुँदा समस्या विकराल बन्दै गएको र आत्महत्याका घटनामा समेत वृद्धि हुन थालेकाले सामाजिक विकास मन्त्रालयले नीति तथा कार्यक्रममै समेटेर योजनाबद्ध सचेतना तथा रोकथामका प्रयास थालेको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार मानसिक रोग, यसले व्यक्ति तथा समाजमा पार्ने नकारात्मक असर र समाधानका उपायहरूबारे सचेतना जगाउन योग, ध्यान, जीवनशैली परिवर्तन एवं मनोसामाजिक स्वास्थ्य प्रवर्धनका प्याकेज कार्यक्रमहरू सञ्चालन गरिनेछ। सामाजिक विकास मन्त्री जितबहादुर मल्लले मानसिक स्वास्थ्य समस्याले समाजलाई आक्रान्त बनाइरहेकाले यसको न्यूनीकरणका लागि विद्यालयदेखि कार्यालय स्तरसम्मै विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा लक्षित योजनाहरू कार्यान्वयन गरिने जानकारी दिएका छन्। आमनागरिकलाई मानसिक स्वास्थ्यको दायरामा ल्याउन र समयमै मनोपरामर्श तथा उपचार सेवा उपलब्ध गराउन मन्त्रालयले बहुपक्षीय रणनीति अपनाउने मन्त्रालयका प्रवक्ता वृषबहादुर शाहीले बताएका छन्।

प्रयासहरू थालिए पनि कर्णालीका दुरदराजमा आधारभूत स्वास्थ्य सेवासमेत सहज नपुगेको अवस्थामा मानसिक रोगको विशेषज्ञ सेवा झनै दुर्लभ रहेको छ। हाल प्रदेशभर कर्णाली प्रदेश अस्पतालमा कार्यरत दुई जना मनोरोग विशेषज्ञबाहेक अन्य कुनै पनि जिल्ला वा क्षेत्रीय अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध छैन। भौगोलिक विकटता र आर्थिक अभावका कारण दूरदराजका नागरिकहरू सुर्खेतस्थित प्रदेश अस्पतालसम्म आइपुगेर उपचार गराउन असमर्थ रहेको मनोपरामर्शदाता रविन थापाले बताएका छन्। विशेषज्ञ सेवा र जनचेतनाको अभावमा धेरै बिरामीहरू घरमै समस्या पालेर बस्न बाध्य छन्।

यता कर्णाली प्रदेश अस्पतालमा भने मानसिक स्वास्थ्य समस्या लिएर आउने बिरामीको चाप दिनप्रतिदिन बढ्दो क्रममा छ। अस्पतालमा दैनिक ४० देखि ५० जनासम्म मानसिक बिरामीहरू उपचारका लागि पुग्ने गरेका छन्। मनोरोग विशेषज्ञ डा. सुशील समदर्शीका अनुसार कर्णालीमा वयस्क जनसङ्ख्याको ११.७ प्रतिशतमा विभिन्न प्रकारका मानसिक स्वास्थ्य समस्याहरू पाइएका छन्, जसमा गर्भवती तथा सुत्केरी महिला, वयस्क र बालबालिकाहरू समेत उच्च जोखिममा रहेका छन्। कर्णालीको कठिन भौगोलिक बनावट, गरिबी, जातीय विभेद, छाउपडी प्रथा र लैङ्गिक हिंसा जस्ता सामाजिक–सांस्कृतिक कुरीतिहरू नै यहाँ मानसिक स्वास्थ्य समस्या तीव्र रूपमा फैलिनुका मुख्य कारण रहेको डा. समदर्शीले औँल्याएका छन्।

प्रकाशित मिति : २०८३ असोज ६ गते मंगलबार