२०८३ कात्तिक २१ , शनिबार
दसौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

१२ देखि जिल्ला र २६ गतेदेखि प्रदेश छनोट प्रतियोगिता हुने



सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप जिल्ला तथा प्रदेशस्तरीय छनोट प्रतियोगिताको कार्यतालिका तय गरिएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलाडी छनोट प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन जिल्ला तथा प्रदेशस्तरका प्रतियोगिताहरूको मिति र स्थान निर्धारण गरेको हो। तय गरिएको कार्यतालिका अनुसार पहिलो चरणमा आगामी असोज १२ गतेदेखि २२ गतेसम्म प्रदेशका १० वटै जिल्लामा एकैसाथ जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गरिनेछ।

प्रतियोगिता सञ्चालन तथा सहजीकरणका लागि परिषद्ले १० वटा जिल्लालाई समेटेर पाँच जना संयोजक तोकेको छ। जसअनुसार हुम्ला र मुगुका लागि गोर्खबहादुर शाही, कालिकोट र जुम्लाका लागि पञ्चबहादुर मल्ल, दैलेख र जाजरकोटका लागि पवनकुमार थापा, सल्यान र रुकुम पश्चिमका लागि भीमकुमारी भुसाल तथा सुर्खेत र डोल्पा जिल्लाका लागि किरणकिशोर सापकोटालाई संयोजकको जिम्मेवारी दिइएको छ। जिल्लास्तरीय छनोटबाट उत्कृष्ट ठहरिएका खेलाडीहरूलाई आगामी असोज २६ देखि ३१ गतेसम्म आयोजना हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी गराइने परिषद्ले जनाएको छ।

प्रदेशस्तरीय छनोट प्रतियोगितालाई प्रदेशका विभिन्न जिल्लामा विकेन्द्रित गरी सञ्चालन गर्ने रणनीति बनाइएको छ। जसअनुसार दैलेखमा कराँते, एफसी कराँते र ह्यान्डबल, जाजरकोटमा खोखो, सल्यानमा टेबल टेनिस, रुकुम पश्चिममा महिला कबड्डी तथा जुम्लामा डब्लूटीएफ तेक्वान्दोको छनोट प्रतियोगिता हुनेछ। यस्तै, हुम्लामा महिला भलिबल र हक्की, मुगुमा पुरुष कबड्डी, कालिकोटमा पुरुष भलिबल र डोल्पामा चेस खेलको छनोट गरिनेछ भने बाँकी रहेका सम्पूर्ण खेलहरूको प्रदेशस्तरीय छनोट प्रतियोगिता प्रदेश राजधानी सुर्खेतमा सञ्चालन हुनेछ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले आगामी मङ्सिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको थियो। चार पटकसम्म मिति संशोधन भई तय भएको यस राष्ट्रिय प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न र कर्णालीको तर्फबाट उत्कृष्ट खेलाडी मैदानमा उतार्न परिषद्ले जिल्ला स्तरदेखि नै प्रतिस्पर्धा गराएर खेलाडी छनोट प्रक्रिया अघि बढाएको हो।

प्रकाशित मिति : २०८३ असोज ६ गते मंगलबार