२०८३ असोज ७ , बुधबार
स्थानीय खबर

चौकुनेमा फरुवा प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ



सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित रेक्चामा आफ्नै श्रीमतीको फरुवा प्रहार गरी हत्या गरेको आरोपमा एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। असोज ६ गते मङ्गलबार बिहान करिब १०:२० बजे स्थानीय ३२ वर्षीय गोपीराम जैसीले घरमै ३० वर्षीया श्रीमती चन्द्रा देवकोटा जैसीको टाउकोमा फरुवा प्रहार गरेका हुन्। फरुवाको प्रहारबाट गम्भीर चोट लागेकी चन्द्राको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा चौकुने–५ का वडा सदस्य टपेन्द्र बुढा क्षेत्रीले जानकारी गराउनासाथ नजिकैको प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धि साउँदको कमान्डमा टोली घटनास्थल पुगेको थियो। घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा घटनास्थल अनुसन्धान अधिकृत (सोको) सहितको प्राविधिक टोलीसमेत परिचालन गरिएको थियो। प्रहरी टोलीले घटनास्थलको सुरक्षा गरी कानुनी मुचुल्का तयार पार्नुका साथै आवश्यक प्रमाण सङ्कलन गरेर शवलाई परीक्षण (पोस्टमार्टम) का लागि अस्पताल पठाउने प्रक्रिया अघि बढाएको छ।

फरुवा प्रहार गरी हत्या गरेको आरोप लागेका गोपीरामलाई प्रहरीले घटनामा प्रयोग भएको फरुवासहित नियन्त्रणमा लिएको छ। घटना हुनुको वास्तविक कारण तत्काल खुल्न नसकेको र श्रीमान्–श्रीमतीबिचको घरायसी विवाद वा योजनाबद्ध आक्रमण के हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका जैसीमाथि ज्यानसम्बन्धी कसुरमा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ भने अनुसन्धान पूरा भएपछि सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिनेछ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मंगलबार