सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वमा रहेको पुरानो कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै तत्काल सुधारको बाटो अपनाउन निर्देशन दिनुभएको छ। वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बजेट कार्यान्वयन र आयोजना छनोट सम्बन्धी विशेष छलफलमा मुख्यमन्त्री कँडेलले मन्त्री र सचिवहरूलाई सँगै राखेर कडा निर्देशन दिनुभएको हो। बजेट कार्यान्वयनमा देखिएको सुस्तता र विकास निर्माणमा भइरहेको ढिलासुस्तीलाई अब टुलुटुलु हेरेर नबस्ने संकेत दिँदै उहाँले भन्नुभयो, “पुरानै ढर्राबाट काम गर्ने प्रवृत्ति अब चल्दैन; सुधार गर्न सकिँदैन भने बेलैमा विकल्प सोच्नुहोस्।” उहाँको यो अभिव्यक्तिले प्रदेश सरकार अब ‘एक्सन’ मुडमा रहेको प्रष्ट पारेको छ।

फाइल अड्काउने प्रवृत्ति र बजेट खर्चको कमजोर अवस्था
बैठकका क्रममा मुख्यमन्त्री कँडेलले मन्त्रालयहरूमा फाइल रोकिने र निर्णय प्रक्रियामा ढिलाइ हुने प्रवृत्तिमाथि कडा प्रहार गर्नुभयो। कर्मचारीतन्त्रमा फाइल अड्काएर विकासमा अवरोध सिर्जना गर्ने काम तत्काल रोक्न उहाँको आग्रह थियो। हालसम्मको बजेट खर्चको प्रगति निराशाजनक रहेको उल्लेख गर्दै उहाँले समस्या देखाएर पन्छिनुभन्दा समाधानको खोजि गर्न सम्बन्धित निकायलाई सचेत गराउनुभयो। “जनताले प्रक्रिया होइन, परिणाम खोजेका छन्,” मुख्यमन्त्रीले थप्नुभयो, “फाइल किन रोकिन्छ? समस्या भए मलाई भन्नुहोस्, तर काम रोकिनु भएन।” विशेष गरी आर्थिक मामिला मन्त्रालयलाई बजेट कार्यान्वयनको प्रमुख जिम्मेवारी लिन र अन्य मन्त्रालयलाई समन्वयकारी भूमिकामा सक्रिय हुन उहाँले जोड दिनुभयो।

जिल्लाको प्रभावकारिता र फजुल भ्रमणमा रोक
मुख्यमन्त्री कँडेलले जिल्ला तहका कार्यालयहरूको कार्यसम्पादन सन्तोषजनक नभएको गुनासोलाई सम्बोधन गर्दै स्थानीय तहसँगको समन्वयमा जोड दिनुभएको छ। जिल्लाका कार्यालयहरूले दिने सेवामा सुधार नआएसम्म प्रदेश सरकारको प्रभावकारिता नदेखिने उहाँको विश्लेषण छ। यसैगरी, प्रदेशको नाममा हुने अनावश्यक वैदेशिक वा प्रदेश बाहिरका बैठकहरूमा सहभागिता जनाउने प्रवृत्तिलाई पनि उहाँले कडाइका साथ नियन्त्रण गर्ने घोषणा गर्नुभयो। “जरुरी काम बाहेक बाहिर नजानुहोस्,” उहाँले भन्नुभयो, “यदि जानै परे कर्णालीका एजेन्डा के हुन् भन्नेमा स्पष्ट छलफल गरेर मात्र जानुहोस्।” बजेट कार्यान्वयनका चुनौती र आयोजना छनोटका मापदण्डबारे केन्द्रित यो छलफलले कर्णालीमा नयाँ कार्यसंस्कृतिको विकास गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्