२०८३ वैशाख ६ , आइतबार
सुर्खेत–२ को चुनावी चर्चा

हिजोको अंकगणित र आजको बदलिएको दाउपेच



सुर्खेत। २०७९ को चुनावमा ५ हजार ६७ मतान्तरले कांग्रेसले बाजी मारेको सुर्खेत क्षेत्र नम्बर २ मा यसपालि भने ‘कडा टक्कर’ देखिने निश्चित छ। उम्मेदवार फेरिएका छन्, दलका रणनीति बदलिएका छन् र मतदाताको मुड पनि हिजोको जस्तो छैन। यसकारण पनि सुर्खेत–२ यसपटक निकै पेचिलो बन्ने पक्का छ।

अघिल्लो निर्वाचनमा कांग्रेसका हृदयराम थानी ३४ हजार ६२५ भोटका साथ विजयी हुँदा एमालेका अमृतबहादुर बुढा क्षेत्री २९ हजार ५५८ मतमा रोकिएका थिए। रोचक कुरा त के छ भने, प्रत्यक्षतर्फ हारे पनि एमालेले समानुपातिकमा सबैभन्दा धेरै २५ हजार ८६ भोट ल्याएर आफ्नो बलियो उपस्थिति देखाएको थियो। त्यसबेला कांग्रेसले २३ हजार १०, तत्कालीन माओवादीले १० हजार ५९ र नयाँ शक्तिका रूपमा आएको रास्वपाले ६ हजार १४६ भोट पाएका थिए। अहिले यो क्षेत्रमा कुनै पनि दललाई ‘सुरक्षित’ भन्न सकिने अवस्था छैन। यसपटक चार मुख्य उम्मेदवारबीच ‘चौघेरा’ प्रतिस्पर्धा हुने देखिन्छ ।

नेपाली कांग्रेसबाट नारायण कुमार कोइराला, नेकपा एमालेबाट कुलमणि देवकोटा, नेकपाबाट झकबहादुर मल्ल ‘सुदीप’ र रास्वपाबाट रमेश कुमार सापकोटा चुनावी मैदानमा छन् । यस क्षेत्रमा कुल १ लाख २६ हजार ४१ मतदाता छन्। उमेरका आधारमा हेर्दा यो चुनाव निकै रोचक हुने देखिन्छ । जस अनुसार २६ देखि ६० वर्ष मूहमा सबैभन्दा धेरै झन्डै ९२ हजार मतदाता छन्, जसले हार–जितको फैसला गर्नेछन्।

युवा जोस अर्थात १८ देखि २५ वर्षका झन्डै १२ हजार नयाँ मतदाता छन्। ‘जेन–जी’ आन्दोलनपछिको बदलिएको परिवेशमा यी युवाहरूको मत कुन घानमा पर्छ, त्यसले पुरानो विरासत भत्काउन वा जोगाउन ठूलो भूमिका खेल्नेछ। अनुभवी मतदाता अर्थात ८० वर्षमाथिका २१ हजारभन्दा बढी मतदाताको आशीर्वाद पनि उत्तिकै महत्वपूर्ण हुनेछ।

हिजोको ‘भोट बैंक’ र आजको ‘अवस्था’ फरक छ। मतदाताहरू अचेल दलको झण्डाभन्दा पनि उम्मेदवारको योग्यता र सुशासनको नारामा बढी तरंगित हुन थालेका छन्। त्यसैले फागुन २१ को नतिजाले सुर्खेतको राजनीतिमा नयाँ तरंग ल्याउने संकेत गरेको छ।

प्रकाशित मिति : २०८२ फागुन १५ गते शुक्रबार