सुर्खेत । प्रहरीले वीरेन्द्रनगरबाट ठूलो परिमाणको अवैध सालको काठसहित एक जना फर्निचर व्यवसायीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको गस्ती टोलीले वीरेन्द्रनगर–१२, पदमपुरस्थित इन्द्र दैलेखी फर्निचर उद्योगमा छापा मारी सञ्चालक इन्द्रजीत विश्वकर्मालाई पक्राउ गरेको हो। उद्योगभित्र लुकाइछिपाइ राखिएको अवस्थामा २३ दशमलव २४ क्यूफिट अवैध सालको काठ बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका विश्वकर्मा र बरामद गरिएको काठलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय सुर्खेतमा बुझाइएको छ। डिभिजन वन कार्यालयका प्रमुख राधाकृष्ण दासका अनुसार पक्राउ परेका व्यक्तिमाथि वन ऐन २०७६ अन्तर्गत मुद्दा चलाइने र कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। पछिल्लो समय वन पैदावारको चोरी निकासी र अवैध कारोबार बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न सादा पोसाकका सुरक्षाकर्मी र सशस्त्र गस्ती टोलीलाई व्यापक रूपमा परिचालन गरिएको प्रमुख दासले बताए।
प्रतिक्रिया दिनुहोस्