
सुर्खेत । पिउने पानी पनि अर्कैले सारेर दिनुपर्ने अवस्थाका बुवा । भावविह्वल अवस्थामा छोरालाई अंकमाल गर्छन् । सुम्मसुम्याए बेदना पोख्छन् । ‘सायद, छोराले ठूलै गल्ती पो गर्यो कि ? नत्र घर नै किन खरानी बनाउथे ?’ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलका बुवा (९० वर्षीय बुबा मणिराम कँडेल) ले यस्तै सोचे । घर खरानीको पीडा त छदै थियो । त्यो भन्दा ठूलो पीडा छोराले कतै ठूलै गल्ती पो गर्यो कि ? भन्ने चिन्ता उनी अर्थात मुख्यमन्त्री कँडेलका बुवालाई थियो । दिनदहाडै एक हुल आएर किन घर खरानी बनाए ? किन आगजनी र तोडफोड गरे ? यी प्रश्नमा छरछिमेकी र आफन्तहरुले सुनाएका थिए ‘तपाईँको मात्र होइन, आन्दोलनकारीले सबै नेताका घर जलाएका छन् ।’ छिमेकीले भनेको उनलाई विश्वास थिएन । घरमा आगजनी हुनुको कारण आफ्नै छोराको मुखबाट सुन्न चाहन्थे । तर त्यो दिन छोरो नै घर फर्किएनन् ।

घर खरानी भएको २४ घण्टासम्म छोराको मुखबाट उत्तर पाएका थिएनन् । कतै छोरालाई नै पो तलमाथि पारिदिए कि ? उनलाई चिन्ता र चासो थियो । किनकि भदौ २४ गतेदेखि मुख्यमन्त्री कँडेल घरमा आएका थिएनन् । तर घर जलेपछि मुख्यमन्त्रीले बुवालाई फोनबाटै भनेका थिए ‘म ठिक्कै छु, सुरक्षित छु । मेरो चिन्ता नमान्नु आफ्नो ख्याल गर्नु ।’ दुई बाउछोरासँग बसेर घर किन र कसले जलाएका हुन् भन्ने विषयमा कुराकानी हुन पाएको थिएन् ।
सायद यही भएर होला आइतबार छोरालाई भेट्दा उनी भक्कानिदै अंकमाल गरे । पीडालाई थाम्न सकेनन् धरधरी रोए । ‘नरुनोस् बुवा तपाइको छोराले केही गल्ती गरेको छैन’ मुख्यमन्त्रीले बुवालाई सम्झाउँन खोजे । तर घर जलेको पीडा मात्रै थिएन छोरालाई केही तलमाथि पो हुन्छ कि भन्ने त्रास पनि थियो । यही कारण उनी क्षणमा के थामिन सक्ने । नातिनी प्रतिष्ठाले पनि हजुरबुवालाई सम्झाउने कोसिश गरिन् । डुम्बन लागेको घाम जस्तो बुवा भावविह्वल भएको दृष्य कारुणिक थियो । केही समय शून्यता छायो । मुख्मयन्त्रीको साथमा गएका र छिमेकी सबैका आँखा रसाए । जीवनभर रोएको नदेखेका छिमेकीका मन पोल्यो ।

तर मुख्यमन्त्री कँडेललाई घर जलेको पीडा बोकेर बस्ने छुट थिएन् । किनकि मुख्यमन्त्रीका भएका हिसावले उनी सिंगो कर्णाली प्रदेशकै अविभावक थिए । जेनजीको आन्दोलनले वीरेन्द्रनगरका मात्रै ३७ वटा विभिन्न निकायमा क्षति पुगेको थियो । आगजनी र तोडफोडबाट खण्डहर बनेका भौतिक संरचनाहरु अनुगमन गर्नु मात्र थिएन् ती खरानी भएका संरचनाहरुलाई फेरि उठाउने दायित्व र जिम्मेवारी थियो । यही जिम्मेवारी बोध गरेर मुख्यमन्त्री कँडेल शनिबार र आइतबार जेनजीको आन्दोलनमा क्षति भएका सबै संरचनाहरु स्थलगत अनुगमन गरेका छन् ।

घर जलेको पीडा भुलेर उनी अन्य निकायलाई ढाडस दिन भग्नावससे बनेका संरचना हेर्न पुगेका हुन । बुवासँगै बसेर पीडा भुलाउने र घर जलाउनुको कारण बुवालाई सुनाउने चाहना मुख्यमन्त्रीलाई नभएको होइन । तर त्योभन्दा ठूलो जिम्मेवारी ध्वस्त भएका संरचनाहरु कसरी उठाउन सकिन्छ ? पुरानै संरचनाबाट नागरिकलाई सेवा प्रवाह गर्न सकिन्छ ? भन्ने जिम्मेवारी ठानेका छन् । सोही कारण हिजोआज मुख्यमन्त्री कँडेल आन्दोलनमा क्षतिग्रस्त भएका संरचनाहरुको अनुगमन थालेका छन् । कतिपयले उनको अनुगमनलाई रुखा शब्दमा तर्क पनि गरेका छन् ।

मुख्यमन्त्रीले यो विषम परिस्थितिलाई सामान्यकरण गराउनु सरकार र आफ्नो दायित्व भएको बताउँछन् । ‘मुलुकले जुन परिस्थिति भोगिरहेको छ, यसलाई सामान्यकरण गर्नु हामी सबैको उत्तिकै भूमिका छ, सरकार प्रमुख भएका नातामा मेरो अल्ली बढी भूमिका रहला’ आइतबार आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘मुलुकमा शान्ति स्थापना र त्रासपूर्ण वातावरणको अन्त्य गर्न सबै पेशा र व्यवसायका साथीहरुले आ–आफ्नो तर्फबाट पहल गर्नुपर्छ ।’ यही जिम्मेवारी बोध गरेर मुख्यमन्त्रीले आगजनीबाट ध्वस्त भएका संरचनाहरुको अनुगमन थालेका हुन् ।

जेनजीले गरेको आन्दोलनका क्रममा सुर्खेतका प्रदेश सरकार मातहतका ७ वटा, संघीय र स्थानीय तह मातहतका १९ वटा, ७ जना निजी व्यक्तिगत सम्पत्ति, ४ वटा विभिन्न दलका पार्टी कार्यालय र एउटा बैंकमा क्षति पुगेको छ । क्षति भएका संरचनामध्ये भ्याएसम्म सबै स्थानमा पुगेर खण्डहर बनेका संरचनाको अनुगमन गर्ने मुख्यमन्त्रीको संकल्प छ ।
प्रतिक्रिया दिनुहोस्