आज म यहाँ तपाईंहरूको अगाडि उभिएर बोलिरहँदा, मेरा हजुरबा, आमा र बुवाहरूले मलाई सुनाउनुभएको पुर्खाको कथा सम्झिरहेको छु, जो यहीँ दैलेखको दुल्लुबाट सुरु हुन्छ । अहिले म मेरा कथामा आउने ती आदि पुर्खाहरूलाई सम्झिरहेको छु, जो यतैकतै रनबन चहार्थे । माथि बडिमालिकातिर खर्क भर्न जान्थे, पर–पर खप्तडका नागीहरूमा रमाउँथे । सायद उनीहरूले गरेका प्रार्थना अहिले पनि चन्दननाथ मन्दिरको आँगन हुँदै बडिमालिकातिर हावामा गुन्जिरहेको होला । सायद उनीहरूले गरेको भाकल र मागेको आशीर्वादले मेरो जीवनलाई अझै आशीर्वादमय बनाएको होला ।
म अहिले सिँजा उपत्यका सम्झिरहेको छु, जहाँ हामीले बोल्ने भाषाको जग बस्यो र फैलियो । जहाँ हाम्रो सभ्यता जन्मियो र हुर्किँदै गयो । जहाँ हाम्रा आस्थाका मन्दिरहरू बने । जहाँ सुख, दुःखका इतिहास र कथा लेखिए । यहाँबाट हाम्रा पुर्खाहरूले इतिहासको लामो यात्रा प्रारम्भ गरे र आफ्नो सभ्यतालाई काँधमा बोकेर अनवरत हिँडिरहे ।
मलाई लाग्छ, रारातालको कञ्चन ऐनामा मेरा पुर्खाहरूले आफ्नो अनुहार हेरेका थिए होलान् र त्यही कञ्चन जलधारामा जीवनका अँध्यारा–उज्याला छायाहरू देखे होलान् । मलाई लाग्छ, मेरा पुर्खाहरूले इन्द्रेणीको रङ चोरेर माथि नागीहरूमा रङ भरे होलान् र त्यसको छायालाई शे–फोक्सुण्डोमा हेरेर रमाए होलान् । अहिले म मेरो आफ्नै उपन्यास मोक्षभूमि सम्झिरहेको छु, जसको कथा सुरु हुन्छ, खस साम्राज्यको राजधानी सिँजाबाट । र कथा अगाडि बढ्छ, मोक्षभूमि निर्माणका लागि मान्छेले गरेको निरन्तर संघर्षको ।
मलाई लाग्छ, त्यो मोक्षभूमि यही हो । मलाई लाग्छ, कर्णाली थियो, दैलेख थियो, दुल्लु थियो, मेरा पुर्खाहरू थिए र म छु । यसैले मेरो जरा हो कर्णाली र मेरो इतिहासको कडी हो कर्णाली । तर, अहिले म कर्णालीमा बस्दिन । म कर्णालीभन्दा निकै टाढा बस्छु । त्यसैले म कर्णालीलाई मात्र अनुभूतिको रूपमा बयान गर्न सक्छु । यसर्थ नै आज म तपाईंहरूलाई कर्णालीको कुरा सुनाउन होइन, मात्र कर्णालीको अनुभूति सुनाउन उपस्थित छु ।
जो स्वयं कर्णालीमा बस्छ, उसलाई कर्णाली म कसरी सुनाउन सक्छु ? जो स्वयं कर्णालीमा बसेर यसको सुगन्ध बोध गर्छ, उसलाई यसको महिमा म कसरी सुनाऊँ ? त्यसैले आज म, कर्णालीको इतिहास सुनाउँदै छैन । न म कर्णालीका दुःख सुनाउँदै छु, न सुख । किनभने यहाँका दुःख त तपाईंहरूले स्वयं भोग्नुभएको छ । सुनाएका दुःखभन्दा भोगेका दुःख ठूला हुन्छन्, जो सबैलाई थाहा छ । हो, म तपाईंहरूका सुखका कथाहरू तपाईंहरूलाई नै सुनाइरहेको छैन, किनभने त्यो सुख, आत्मगौरव र अनुभूति त स्वयं तपाईंभित्र सन्निहित छन् । जो स्वयं तपाईंहरूभित्र छ, त्यो म कसरी सुनाऊँ ? जो सबै स्वयं कर्णालीलाई थाहा छ, त्यो मैले उसैलाई सुनाएर के हुन्छ ? अतः आज म कर्णालीभन्दा पर बसेर कर्णालीलाई मैले कसरी बुझेको छु, त्यो सुनाउँछु र सुनाउँछु कर्णालीमाथिका मेरा अनुभूतिहरू । जसलाई तपाईंहरूमाझ राख्न पाएकोमा म आज धन्य भएको छु ।
म मेरो अनुभूतिलाई तीनवटा कर्णालीसँग जोडेर एकाकार गर्न चाहन्छु । पहिलो, कर्णाली छ—मैले सुनेको कर्णाली । दोस्रो कर्णाली छ—मैले देखेको कर्णाली । र तेस्रो, कर्णाली छ—भविष्यको अथाह सम्भावना बोकेको कर्णाली । मैले सुनेको कर्णाली परित्यक्त कर्णाली हो । मैले सुनेको कर्णाली दु:खी कर्णाली हो । मैले सुनेको कर्णाली किनारमा बसेर एक्लै रोइरहेको, गरिब कर्णाली हो । मलाई कसले यो कुरा सुनायो थाहा छैन, र मैले कसरी कर्णालीको दुःखान्त सुनेँ थाहा छैन । तर, मैले सुनेको कर्णाली अपहेलित, तिरस्कृत र दु:खको कर्णाली हो । पछौटे, मैलो–धैलो कर्णाली हो । अन्धविश्वासको अँध्यारोमा फसेको कर्णाली हो । परिश्रम गर्न नसकेर भोकै बसेको कर्णाली हो ।
किन मान्छेहरूले कर्णालीलाई यसरी दुष्प्रचार गरे थाहा छैन । तर, मैले यही सुनेँ कि कर्णाली पर छ र छ मैलो दलदलमा । जसलाई उठाउन जति कोसिस गरे पनि सकिँदैन । ऊ यही नियति सहन बाध्य छ । किनभने उसको लेखान्त नै यही हो । तर, मैले देखेको कर्णाली सुनेभन्दा फरक रहेछ । यो त हाम्रो सभ्यताको जग रहेछ ।

यो केही वर्ष अगाडिको कुरा हो । जब मैले कर्णालीलाई देखेँ, यो सुनेभन्दा बिल्कुलै फरक रहेछ । भव्य रहेछ । स्रोतले भरिपूर्ण रहेछ । अवसरले भरिएको रहेछ । जब मैले कर्णालीको पवित्र माटोमा पाइला राखेँ, यो बारे सोच्न थालेँ, यो त केवल हाम्रो आदि भूमि मात्र होइन, नेपाली सभ्यताको जग र जननी पो रहेछ । जसले हामीलाई भाषा दियो, मौलिक जीवन पद्धति दियो, विश्वासको अलौकिक संसार दियो, प्रकृतिको रमणीय सुन्दरता र खजाना दियो, नदी दियो, पर्वतमाला दियो ।
सिँजा उपत्यकामा जन्मिएको खस सभ्यता, त्यहीँबाट उदाएको भाषा, त्यहीँबाट सुरु भएको राज्य निर्माणको यात्रा—मलाई यो सबै सम्मोहनकारी लाग्यो । जब मैले कर्णाली देखेँ, मेरो लागि त्यो केवल इतिहास मात्र थिएन, थियो हाम्रो इतिहासको प्रारम्भ र हाम्रो अस्तित्वको आधार । त्यसपछि मलाई लाग्यो, यो हाम्रो सम्पदाको स्वर्ग हो । यो हाम्रो स्वर्णभूमि हो । सुनको संसारमा बस्नेहरूलाई हाम्रो समाजले गरिब बनाइरहेको छ—यो कस्तो विपरीत कुरा ? यो कस्तो लाजमर्दो कुरा ? जोसँग स्वयंभित्र गौरव छ, त्यही गौरवहीन बन्नुपर्ने कस्तो दुःखद कुरा ।
जब मैले कर्णाली देखेँ, मलाई लाग्यो, मैले हाम्रो जीवनधारासँग साक्षात्कार गरेँ । यसरी हेर्दा, कर्णाली केवल नेपालको एउटा दुर्गम क्षेत्र होइन, यो हाम्रो इतिहासको मुहान, हाम्रो पहिचानको आधार, र हाम्रो भविष्यको सम्भावना हो । अतः कर्णाली दुर्गम छैन, हामीभित्र छ । दुर्गम छ त हाम्रो सत्ता । मेरो मनमा प्रश्न आयो, कर्णाली जस्तो हुनुपर्थ्याे त्यस्तो हुन सकेन किन ? मैले कर्णालीलाई समाजशास्त्रीय दृष्टिकोण, मानवशास्त्रीय दृष्टिकोण, अर्थशास्त्रीय दृष्टिकोण, भाषाशास्त्रीय दृष्टिकोण र राजनीतिक दृष्टिकोणबाट नियालेँ ।
कर्णाली विविधताको भूमि हो—जातीय, सांस्कृतिक, भाषिक । तर, यही विविधताभित्र वर्गीय विभेद, लैंगिक असमानता र गरिबीको गहिरो घाउ छ । र राज्यले त्यो घाउलाई पुर्न कुनै अतिरिक्त प्रयत्न गरेन । यस्तो अपहेलना हुन्छ कसरी ? राजनीतिक रूपमा हेर्दा, यो बीचमा अनेक परिवर्तन भए—तर कर्णालीको जीवनमा त्यो परिवर्तनको प्रभाव सधैं कमजोर रह्यो । यस्तो भयो कसरी ? के कारण हो कि राजनीतिक परिवर्तनहरूले कर्णालीलाई वास्तविक रूपमा स्पर्श गर्न सकेनन्, किन ? मनमा प्रश्न आयो, पछाडि पर्नै नहुने कर्णाली कसरी पछाडि पर्यो ? जहाँ अपार सम्पदा छ, जल छ, जंगल छ, प्रकृति छ, धर्म छ, त्यो कर्णाली गरिब हुन्छ कसरी ? त्यो किनारमा पर्छ कसरी ? परित्यक्त हुन्छ कसरी । अविकसित हुन्छ कसरी ? अन्धविश्वासी हुन्छ कसरी ?
सिँजा उपत्यकामा फस्टाएको खस सभ्यताले हामीलाई भाषा दियो, संस्कृति दियो, राज्य निर्माणको आधार दियो । तर, कर्णालीको भाषा भाषिकामा संकुचित भयो कसरी ? कर्णालीको सभ्यता किनारमा पुग्यो कसरी ? जहाँका आमाहरूले जीवनको गीत गाए । तर, बदलामा सिटामोल पाउन सकेनन् । यस्तो अन्याय हुन्छ कसरी ? जब मैले कर्णालीका मान्छेहरूसँग कुरा गरेँ ।
जब मैले कर्णालीलाई नजिकबाट हेर्दै गएँ, मलाई पक्का भयो, मैले सुनेको कर्णाली र मैले देखेको कर्णालीमा धेरै फरक छ । मैले सुनेको र मलाई सुनाइएको कर्णाली गरिबी, अपमान, अँध्यारो र अन्धविश्वासले थिलथिलो थियो । तर, मैले देखेको कर्णाली ती संकटहरूबाट निस्किन प्रयत्न गरिरहेको देखिन्थ्यो । जो गरिब थिएन, गरिब बनाइएको थियो । जो, कमजोर थिएन, कमजोर बनाइएको थियो । जो दुर्गम थिएन, दुर्गम बनाइएको थियो ।
हाम्रो राजनीति धेरै अगाडि बढ्यो । यो बीचमा अनेक परिवर्तनहरू भए र कर्णाली स्वयं परिवर्तनको लडाइँमा संलग्न भयो । यसले पनि अरूले झैँ राजतन्त्रबाट गणतन्त्र, केन्द्रबाट संघीयतासम्मको यात्रा गर्यो । तर, सत्ता सधैँ केन्द्रमा सीमित भयो र कर्णाली सधैँ परिधिमा धकेलिँदै रह्यो ।
मलाई लाग्यो, कर्णाली पछाडि परेको होइन, कर्णालीलाई पछाडि पारिएको हो । कर्णाली किनारमा छैन, किनारमा पारिएको मात्र हो । कतिपय मान्छेलाई लाग्छ, कर्णालीमा विकास छैन । कर्णाली देखेपछि मलाई लाग्यो, यहाँ केवल विकासको अभाव होइन, राज्यले दिने न्यायको अभाव हो । कर्णालीमा विकास नभएको त हो नै, तर त्योभन्दा धेरै न्याय नभएको हो । यहाँ विकास नभएको भन्नुको अर्थ साधारण निस्किन्छ । तर, अन्याय भएको अनुभूतिले न्याय माग्छ । विद्रोह माग्छ । अधिकार माग्छ ।
दोस्रो, कर्णाली देखेपछि मलाई लाग्यो, के काठमाडौं कर्णालीलाई हेर्ने दृष्टि बदल्न तयार छ ? के काठमाडौं यसलाई दया होइन, सम्मान र सम्भावनाको दृष्टिले हेर्न तयार छ ? के काठमाडौं कर्णालीलाई विकास र न्याय दिन तयार छ । किनभने, यदि कर्णाली उठ्छ भने, नेपाल उठ्छ । यदि कर्णाली बन्छ भने, हाम्रो भविष्य बन्छ । अन्यथा, कर्णालीलाई छाडेर, देश बनाउने कुरा गर्नु व्यर्थको कुरा हो ।
कर्णाली देखेपछि मेरो कुरा यही हो । अब म तेस्रो कर्णालीको कुरा गर्छु । भविष्यको कर्णालीको कुरा । अर्थात नयाँ पुस्ताको कर्णालीको कुरा । समृद्ध, न्यायपूर्ण र भरिपूर्ण कर्णालीको कुरा । एक मोक्षभूमिको कुरा । भर्खरै मात्र नेपालमा जेन–जी आन्दोलन भयो । त्यो आन्दोलनको आज सबैभन्दा शक्तिशाली बिम्ब छ, एउटा रक्तरञ्जित जुत्ता । तपाईं हामी सबैलाई थाहा छ, त्यो जुत्ता हो भाइ प्रकाश बोहराको । जो स्वयं कर्णालीवासी हुन् । मलाई लाग्छ, त्यो जुत्ताले यो देशको नयाँ पुस्ताको इच्छा, अपेक्षा र सपनाको मात्र प्रतिनिधित्व गर्दैन, त्यो कर्णालीको पनि प्रतिनिधि बिम्ब हो र मैले देखेको तेस्रो कर्णाली त्यही हो । के भन्छ, त्यो बिम्बले ? अथवा के हो तेस्रो कर्णाली ? जुन बिम्बले भन्छ, कर्णालीलाई दया होइन, अधिकार चाहिएको छ । कर्णालीसँग परिवर्तनको एक अदम्य शक्ति छ— बाँच्ने, लड्ने र परिवर्तन गर्ने शक्ति । कर्णाली आफ्नो परिचय बदल्न चाहन्छ । कर्णाली अँध्यारो विगतबाट उज्यालो भविष्यतिर हिँड्न चाहन्छ । कर्णाली निराशाबाट आशातिरको यात्रा गर्न चाहन्छ । आजको कर्णालीलाई हीनताबोध, गरिबी र अपमानको पर्दा च्यातेर अगाडि बढ्न चाहन्छ ।
सम्भवतः त्यसका लागि यसले राज्यसँग क्षतिपूर्ति माग्नुपर्ला । स्वयं जागृत भएर आफ्नो परिवर्तनको खाका बनाउनुपर्ला । कृषि, पर्यटन, जडीबुटीको खजानालाई दुनियाकासामु लैजानु पर्ला । सभ्यताको नयाँ मानक बनाउनुपर्ला । आफैँभित्रका हीनताबोध र पुरातन पर्दाहरूलाई च्यात्नपर्ला । समानता, स्वाभिमान र लोकतन्त्रलाई आफ्नो सभ्यताको जगमा बसाउनु पर्ला । यो अब कर्णालीले गर्नेछ । यो अब नयाँ पुस्ताले गर्ने छ ।
मैले देखेको तेस्रो कर्णाली जो अपार सम्भावनालाई बोकेर पनि पछाडि बसेको छ, यसलाई अब काँधमा बोकेर अगाडि लैजाने जिम्मा नयाँ पुस्ताको हो । कर्णालीवासीको हो । अब कर्णालीलाई निराश हुन सुहाउँदैन । अब कर्णालीलाई हीनताबोधमा फस्न छुट छैन । यो बोल्ने र विश्वासका साथ अगाडि बढ्ने समय हो । यो आशावादी हुने समय हो । मलाई लाग्छ, कर्णालीले अब समृद्ध कर्णालीको सामूहिक सपना देख्नुपर्छ र त्यसका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्छ । कर्णालीले, समाज, संस्कृति, अर्थतन्त्र र राजनीतिका सबै आयामहरूमा परिवर्तनको नयाँ दृष्टान्त दिने समय आयो । समानता, सामूहिकता, संघर्ष र सम्भावनाको दृष्टान्त ।
(शनिबादेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली उत्सव कुडा कर्णालीको सातौँ संस्करणमा ‘मोक्ष कर्णाली’ विषयक सत्रमा दाहालले राखेको विद्वत् प्रवचनको सम्पादित अंश ।)
प्रतिक्रिया दिनुहोस्